जनता टाइम्स

२३ बैशाख २०८१, आईतवार १७:४९

परराष्ट्रमन्त्री श्रेष्ठ र जापानी विदेशमन्त्री योकोबीच भेटवार्ता


काठमाडौं, २३ बैशाख । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपाल भ्रमणमा रहनुभएको जापानकी विदेशमन्त्री खामिखावा योकोबीच भेटवार्ता सम्पन्न भएको छ । परराष्ट्रमन्त्रीस्तरीय प्रतिनिधिमण्डलबीच आज मन्त्रालयमा भएको वार्तामा द्विपक्षीय सम्बन्ध र सहयोगलाई थप सुदृढ गर्ने विषयमा छलफल भएको हो ।

भेटवार्तापछि सञ्चारकर्मी कुरा गर्दै उहाँले नेपाल र जापानबीचको द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउने र आर्थिक सहयोगात्मक सम्बन्धलाई फराकिलो बनाउने सम्बन्धमा छलफल भएको बताउनुभयो । जापानी विदेशमन्त्री खामिखावाको औपचारिक सद्भाव भ्रमण भएकाले वार्तामा कुनै पनि विषयमा सम्झौता वा समझदारी भने नभएको बताइएको छ ।

उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री श्रेष्ठले उनको सम्मानमा रात्रीभोजको आयोजना गर्नेछन् । विदेशमन्त्री खामिखावा भ्रमण सम्पन्न गरी आजै राती नेपाल वायु सेवाको विमानमार्फत जापानका लागि प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।