janatatimes

२५ बैशाख २०८१, मंगलवार ०६:३९

आगलागीबाट ५ जनाको मृत्यु


काठमाडौं, २५ वैशाख । ललितपुर महानगरपालिका–१७ ग्वार्कोमा आइतवार एक टहरोमा भएको आगलागीमा परी घाइते भएकामध्ये दुई बालिकाको उपचारका क्रममा ज्यान गएको छ । पाँच जना घाइतेमध्ये आठ वर्षीया प्रिया गिरी र तीन वर्षीया एलिसा गिरीको हिजो बेलुका उपचारका क्रममा किष्ट अस्पतालमा ज्यान गएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता, प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिनुभयो ।अन्य दुईजनाको गम्भीर अवस्थामा उपचार भैरहेको र अर्का एकजनाको अवस्था खतरामुक्त रहेको प्रहरीको भनाइ छ ।

प्रवक्ता सुवेदीका अनुसार ३५ वर्षीय सञ्जय गिरीको भेन्टिलेटरमा र उहाँकी श्रीमती ३२ वर्षीया रुपा गिरीको आइसियुमा उपचार भैरहेको छ । अर्का घाइते नित गिरीलाई वार्डमा सारिएको छ । केही दिनअघि आगो निभाउने क्रममा जलेर ललितपुरको गोदावरीका शंकर र रमेश पहरीको ज्यान गएको थियो ।

यसैवीच आगोले जलेर ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–१० बेतेनीमा आमाछोराको ज्यान गएको छ । हिजो दिउँसो हरिबोले बसाहा सामुदायिक वनको डढेलो खरबारीमा पुगेपछि खर जोगाउने क्रममा जलेर ५५ वर्षीया पुन्यमाया धमला र उहाँका छोरा १५ वर्षीय कञ्चन धमलाको ज्यान गएको हो । बाहुनडाँडा कोल पाखामा निजी खरपाखामा राखिएको खर घाँस जोगाउने क्रममा शुरुमा आमा आगोमा परेको र आमालाई जोगाउन जाँदा छोराको समेत जलेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक बालिष्टार सिंहले बताउनुभयो । केही दिन अघिदेखि स्थानीय जङ्गलमा डढेलो लागिरहेको छ ।