जनता टाइम्स

२५ बैशाख २०८१, मंगलवार १२:३०

जिल्ला प्रशासन कार्यालय जाजरकोटको सेवा अब प्रिफ्याब भवनबाट


जाजरकोट, २५ बैशाख । टेन्टबाट सेवा दिदै आएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले सोमवार देखि प्रिफ्याब भवनबाट सेवा दिन थालेको छ । जाजरकोट भुकम्पका कारण भवनमा क्षति पुगेपछि टेन्टबाट सेवा दिँदै आएको प्रशासनले सोमबार देखी भने प्रिफ्याब भवनबाट सेवा दिन थालेको हो । संयुक्त राष्ट्र संघिय विकास कार्यक्रम (युएनडीपी) को सहयोगमा प्रिफ्याक भवन बनेपछि कार्यालय उक्त भवनमा सरेको र संचालनमा सहजता आएको प्रमुख जिल्ला अधिकारी ऋषिराज आचार्यले बताउनुभयो ।

सोमवार एक कार्यक्रमको आयोजना गरेर युएनडीपीका उपआवासिय प्रतिनिधी विजय सिंहले जाजरकोटका प्रमुख जिल्ला अधिकारीलाई भवन हस्तान्तरण गर्नुभयो । ६९ लाख ५१ हजार ६ सय ५५ रुपैया लागतमा निर्माण भएको भवनको प्राविधिक तथा आर्थिक सबै सहयोग युएनडीपीले गरेको थियो । भुकम्पले स्थानिय प्रशासनको भवन क्षतिग्रस्त बनाएपछि अस्थायी टेन्ट र त्रिपालबाट सेवा संचालन भैरहेपनि सेवा प्रवाहमा समस्या हुँदै आएको थियो ।

युएनडीपीले ६ कोठे प्रिफ्याव भवन बनाईदिएपछि निकै सहजता हुने प्रजिअ आयार्यले बताउनुभयो । उहाँले भवन निर्माण गरिदिएकोमा युएनडीपीलाई धन्यवाद समेत दिनुभयो ।

युनएनडीपीका उपआवासिय प्रतिनिधी सिंहले विपदको सामाना सवै मिलेर गर्नुपर्ने बताउँदै भुकम्पका कारण भवनमा क्षति हुँदा जिल्ला प्रशासन कार्यालयको सेवा प्रवाहमा समस्या देखिएपछि सहयोग गरिएको बताउनुभयो । उहाँले भन्नुभयो,‘छोटो समयमा निर्माण गर्न सकिने, भुकम्प प्रतिरोधी, आगलागी रहित र कम्तीमा १५ः२० बर्ष सम्म टिकाउ हुने गरि प्रिफ्याब प्रविधिको भवन निर्माण गरेका छौँ । हाम्रो सानो सहयोगले विपदमा परेका नागरिकको सेवा प्रवाहमा ठुलो सहयोग हुनेछ ।’

युएनडीपीले जिल्ला प्रशासन कार्यालयका साथै जिल्लाकै नलगाड नगरपालिकामा इलाका प्रहरी कार्यालय भवन, बारेकोट गाँउपालिकामा कृषि र पशु कार्यालयका भवन, रुकुम पश्चिमका आठविसकोटमा इलाका प्रहरी कार्यालय भवन र आठवीसकोटकै १४ नम्बर वडा कार्यालय भवन निर्माण समेत गरिरहेको छ । भवन हस्तान्तरण कार्यक्रममा जिल्ला प्रशासन कार्यालयले युएनडीपीलाई प्रसंसापत्र प्रदान गरेको थियो ।