जनता टाइम्स

२५ बैशाख २०८१, मंगलवार २०:२३

सत्तामै रहने नेकपा एसको निष्कर्ष


काठमाडौं, २५ वैशाख । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले सरकारमा पार्टीको सहभागितालाई निरन्तरता दिने निष्कर्ष निकालेको छ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपाल विभाजनपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न आज बसेको पार्टी सचिवालय बैठकले सरकारमा पार्टी सहभागीतालाई निरन्तरता दिने निर्णय गरेको हो ।

मुलुकमा विकसित राजनीतिक घटनाक्रमहरुलाई गहिरो विश्लेषण गर्दै सरकारमा पार्टीको सहभागितालाई निरन्तरता दिने निष्कर्ष निकालिएको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले बताउनुभयो ।

‘आज विकसित भएका राजनीतिक घटनाक्रमहरु समसामयिक परिस्थितिमा विकसित भएका घटनाक्रमहरुलाई पार्टीले गहिरोपूर्वक अध्ययन तथा विश्लेषण गरेको छ । र, यो परिस्थितिमा धेरै नै जिम्मेवारीपूर्वक आफ्ना कदमहरुलाई अघि बढाउने भन्ने हामीले निष्कर्ष निकालेका छौं । आज हामी सरकारमा छौं । सरकारमा हाम्रो निरन्तरता रही नै रहनेछ,’ उहाँले भन्नुभयो ।

त्यसैगरी बैठकले सरकारको आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट निर्माण प्रक्रियामा सहभागी हुन र संसद्‌मा प्रभावकारी भूमिका खेल्न पनि पार्टीका सांसदहरूलाई निर्देशन दिएको छ । बैठकमा नेताहरूले पार्टी भित्रको एकतालाई अझ बलियो बनाउनुपर्नेमा पनि जोड दिनुभएको छ ।