जनता टाइम्स

२७ बैशाख २०८१, बिहीबार १४:१२

कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्की नियुक्त


विराटनगर, २७ वैशाख । नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त हुनुभएको छ । कार्कीलाई प्रदेश प्रमुख परशुराम खापुङले बिहीबार ९वैशाख २७० गते मुख्यमन्त्रीमा नियुक्त गर्ने निर्णय गरेका हुन्। .

एमाले र माओवादी केन्द्रका ५२ सांसदको समर्थनमा उहाँ मुख्यमन्त्री नियुक्त भएका हुन् ।

प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा ५ अनुसार सरकार गठन आह्वान गरेपछि आज बिहान एमाले नेता कार्कीले मुख्यमन्त्रीमा दाबी पेस गर्नुभएको थियो।

खापुङले बुधबार नयाँ सरकार गठनका लागि शुक्रबारसम्मको समय दिएर आह्वान गरेका थिए । आजै प्रदेश प्रमुखको आह्वानविरुद्ध कांग्रेसका केदार कार्कीले सर्वोच्च अदालतमा रिट दायर समेत गरेका छन् ।

प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा ५ अनुसार नयाँ सरकार गठनको आह्वान गरेपछि एमाले र माओवादी केन्द्रका ५२ जना सांसदको हस्ताक्षरसहित कार्कीले आज बिहान दाबी पेस गर्नुभएको थियो ।