जनता टाइम्स

२७ बैशाख २०८१, बिहीबार १५:२५

सार्वजनिक सवारी साधनमा भाडा छुट सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न


प्युठान, २७ बैशाख । जिल्ला प्रहरी कार्यालय प्युठानको आयोजना, स्वर्गद्वारी गौमुखी यातायात प्रालि र नमस्ते प्युठान यातायात प्रा.लि. प्युठानको सहकार्यमा प्युठान नगरपालिका–७ टिकुरीस्थित बसपार्कमा “जेष्ठ नागरिकहरूलाई सार्वजनिक सवारी साधनमा भाडा छुट सम्बन्धी सचेतना कार्यक्रम” हिजो सम्पन्न भएको छ । कार्यक्रममा प्युठान जिल्लाका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद अर्यालले जेष्ठ नागरिक सम्बन्धी ऐन, २०६३ को कानूनी व्यवस्था सम्बन्धी स्टिकर टाँस गरी कार्यक्रमको उद्‍घाटन गरेका थिए ।

यस अभियानलाई कार्यक्रममा मात्र सीमित नराखी व्यवहारमा समेत लागू गर्नुपर्ने, अधिकारको उपयोग गर्न तथा दुरूपयोग गर्न नहुने तथा यसको कार्यन्वयनमा प्रहरी प्रशासनद्वारा अभियानको रूपमा चेकजाँचको व्यवस्था गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायव उपरीक्षक ईश्वर थापाले ज्येष्ठ नागरिक सम्बन्धी कानूनी व्यवस्था, ट्राफिक व्यवस्थापन, बसपार्क व्यवस्थापनबारे जानकारी दिँदै यसको कार्यान्वयनमा सबै सरोकारवाला निकायहरू बिच आवश्यक समन्वय र सहकार्य हुनुपर्ने बताउनुभयो । जेष्ठ नागरिक गेहराज शर्मा पण्डितको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सरकारी कार्यालयका प्रमुख, संघ–संस्थाका प्रमुख, यातायात व्यवस्था समितिका पदाधिकारीहरू, संचारकर्मी, जेष्ठ नागरिक, समाजसेवी भद्रभलाद्‍मी लगायतको सहभागिता रहेको थियो ।