जनता टाइम्स

२७ बैशाख २०८१, बिहीबार २०:१०

प्यानलै बनाएर अघि बढेका कडेरिया र तामाङबिच कडा प्रतिस्पर्धा हुने


काठमाडौं, २७ बैशाख । नेकपा एमाले रामेछापको ९औँ जिल्ला अधिवेशन अन्तर्गत बन्दसत्र सुरु भएको छ । आगामी नेतृत्व चयन प्रक्रियाका लागि रामेछाप जिल्ला इन्चार्ज गणेश पहाडीको अध्यक्षताम ११ सदस्यीय अध्यक्ष मण्डल बनाइएको छ । यसअघि नेकपा एमाले रामेछापको अध्यक्षका लागि ४ जनाको नाम चर्चामा आएको भए पनि अहिले अन्तिम समयमा २ जनाबीच प्रतिस्पर्धा हुने देखिएको छ ।

एमाले बागमती प्रदेश कमिटी सदस्य प्रेम तामाङ र जिल्ला सचिव पुरुषोत्तम कँडेरियाले बलियो दाबेदारी प्रस्तुत गर्नुभएको छ । तामाङलाई पार्टीका केन्द्रीय नेताहरु कमल चौलागाईँ, माधब ढुङ्गेल र गीता कार्कीको समर्थन देखिएको छ । तामाङ कार्यकर्ता माझ खास लोकप्रीय नभए पनि केन्द्रीय नेताको समर्थन लिएर अध्यक्ष बन्ने तयारी गरिरहेको बताइन्छ । उता, कँडेरियालाई भने बागमती प्रदेश अध्यक्ष कैलाश ढुङ्गेल र जिल्ला इन्चार्ज गणेश पाहाडीको समर्थन देखिएको छ ।

साथै रामेछापबाट बागमती प्रदेशमा नेतृत्व गर्ने अधिकांम्श प्रदेश कमिटी सदस्यहरु शान्ति पौडेल, पर्शुराम बस्नेत, ज्ञानकुमार श्रेष्ठ, लब श्रेष्ठ, माया कार्की, दीपशिखा कार्की, शेर बहादुर सुनुवारलगायत कार्यकर्तामा लोकप्रिय छवि बनाउनुभएको रत्न गौतमले पनि कँडेरियालाई भावी अध्यक्षका रुपमा समर्थन जनाउनुभएको छ । कार्यकर्तामा लोकप्रिय रहनुभएको हालका जिल्ला अध्यक्ष आनन्द कुमार श्रेष्ठले कँडेरियालाई नै उत्तराधिकारीका रुपमा प्रस्तुत गर्नुभएको छ ।

त्यसो त, कँडेरिया आफैँ पनि भूगोल र जनसंगठन सबैतिर लोकप्रीय हुनुहुन्छ । काविल प्रस्तुतिकरण र ‘प्रष्ट वाक कला’का कारण युवा पङ्तिसहित समग्र पार्टीमा उहाँको लोकप्रीयता बढी रहेको एमाले रामेछापका नेता कार्यकर्ताहरु बताउँछन् । उता, प्रेम तामाङ भने गत निर्वाचनमा टिकट वितरणमा असन्तुष्टि जनाउँदै नेकपा एकिकृत समाजवादीमा प्रवेश गर्नुभएको थियो । खाँडादेवी गाउँपालिकाका पूर्व अध्यक्षसमेत तामाङ नेकपा एसमा प्रवेश गरे लगत्तै एमालेका नेताहरुको सक्रियताले मूल घरमै फर्किनुभएको हो ।

तर, कँडेरिया भने पार्टी विभाजनका बेला र तत्कालिन नेकपाभित्र आन्तरिक संघर्ष चलेका बेलासमेत एमालेको सचिव भएर संगठन निर्माणमा केन्द्रित हुनुभएको थियो । ‘अधिवेशनमा यो कुराको पनि प्रतिनिधिहरूले मूल्यांकन गर्ने र माथिल्लो कमिटीमा भएको व्यक्ति फेरि जिल्ला अध्यक्षमा आएर उम्मेद्वारी दिएका कारण अधिकांश प्रतिनिधिहरु प्रेम तामाङ प्रति असंतुष्टि रहेको बूझिएको छ । पुरुषोत्तमका यस्ता सकारात्मक कुरा धेरै छन् । नेकपा एमाले रामेछापको आगामी नेतृत्व छनोट गर्न भूगोल, जनसंगठन र मनोनितबाट गरि ७ सय प्रतिनिधि चयन भएका छन् ।

उमाकुण्ड गाउँपालिकाबाट ४८ जना, गोकुलगंगा गाउँपालिकाबाट ५७ जना, लिखुतामाकोसी गाउँपालिकाबाट ६६ जना, मन्थली नगरपालिकाबाट १३५ जना, रामेछाप नगरपालिकाबाट ५६ जना, खाँडादेवी गाउँपालिकाबाट ९३ जना, दोरम्वा शैलुङ्ग गाउँपालिकाबाट ७३ जना, सुनापति गाउँपालिका ४३ जना प्रतिनिधि छन् । जनसङ्गठनबाट ५२ जना, जिल्ला सल्लाकारबाट २५ जना, विभागबाट १६ जना, जिल्ला कार्यालयबाट ३ जना र ५ प्रतिशत मनोनितमा ३३ जना प्रतिनिधि छनोट भएका छन् ।

यस आधारमा कुन पालिका र जनसंगठनमा कसको पकड छ भन्ने कुराले पनि अर्थ राख्ने बताइन्छ । तामाङलाई उहाँको आफ्नो खाँडादेवी गाउँपालिका भित्रैबाट खासै समर्थन सुनिएको छैन । उता, कँडेरियालाई भने भूगोलसहित सबैजसो जनवर्गीय संगठनबाट चयन भएका प्रतिनिधिहरुले एमाले रामेछापको भावी अध्यक्ष हुने पक्कापक्की जस्तै भइसकेको बताउन थालिसकेका छन् । कार्यकर्ताहरुका अनुसार ७०५ बढी प्रतिनिधिको समर्थन कँडेरियालाई रहेको बूझिएको छ ।

कँडेरिया स्वयं पनि सकेसम्म पार्टीका नेताहरु बसेर सर्वसम्मत रुपमा नै नेतृत्व चयन होस् भन्ने आफ्नो चाहना रहेको बताउँनुहुन्छ । ‘नेताहरुले प्रतिनिधि र आम कार्यकर्ताको भावना बुझ्नुहुन्छ भन्ने विश्वास मैले लिएको छु’, कँडेरियाले भन्नुभयो, ‘यदि सहमति हुन नसक्दा लोकतान्त्रिक विधिमार्फत नेतृत्व चयन गर्ने विकल्प छँदैछ, चुनाव भएको खण्डमा ७०५ भन्दा बढी मत मेरो पक्षमा आउँछ भन्नेमा विश्वस्त छु ।’

कडेरिया टिमको उपाध्यक्षमा होतराज ढकाल, सचिवमा रामबाबु घिमिरे, उप–सचिबमा मिलन घिसिंग र मखमलि श्रेष्ठ हुने बुझिएको छ । यता प्रेम तामाङको उपाध्यक्षमा ध्रुब कार्की, सचिब प्रकाश कार्की रहने बुझिएको छ । अहिलेसम्म दुबै टिमले प्यानल भने घोषणा गरीसकेका छैनन् । कँडेरियाले भने भूगोल र समुदाय मिलाएर एमाले रामेछापमा समावेशी प्रतिनिधित्व गराउने प्रयासमा आफू रहेको बताउनुभएको छ ।