जनता टाइम्स

२७ बैशाख २०८१, बिहीबार २०:११

कोशीमा एमाले र माओवादीबाट एक-एक मन्त्री नियुक्त गरी मन्त्रिपरिषद बिस्तार, नेकपा एसलाई छुटाइयो


विराटनगर, बैशाख २७ । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शपथसँगै नेकपा माओवादी केन्द्रका गणेश उप्रेती र नेकपा एमालेका रामबहादुर मगरलाई मन्त्री नियुक्त गर्नुभएको छ ।

मुख्यमन्त्री कार्कीले आफ्नो शपथसँगै दुई मन्त्री नियुक्त गर्नुभएको हो । नवनियुक्त दुवै मन्त्री हरुले विना विभागीय मन्त्रीको सपथ लिनुभएको छ । संबिाधानको धारा १६८ को उपधारा ५ अन्तर्गत मुख्यमन्त्री नियुक्त हुनुभएका कार्कीले सानो आकारको मन्त्रिपरिषद बिस्तार गर्नुभएको हो । एमालेबाट मन्त्री बन्नुभएको रमगर इलामबाट निर्वाचित सांसद हुनुहुन्छ भने माओवादीका उप्रेती मोरङका सांसद हुनुहुन्छ । दुबै जना यसअघि पनि मन्त्री भइसक्नुभएको छ ।

एमाले संसदीय दलका उपनेता मगर यसअघि केदार कार्की नेतृत्वको सरकारमा मन्त्री बन्नुभएको थियो त्यतिबेला कांग्रेस र माओवादी पनि मन्त्रिपरिषदमा सामेल भएपछि एमालेले सरकार छाडेको थियो । गणेश उप्रेती पनि केदार कार्की नेतृत्वको मन्त्रिपरिषदमा मन्त्री हुनुहुन्थ्यो ।

गत चैत २६ गते एमाले र माओवादीले केदार कार्कीलाई दिएको समर्थन फिर्ता लिएपछि उप्रेतीले राजीनामा दिनुभएको थियो । मुख्यमन्त्री कार्कीले नेकपा एकीकृत समाजवादी र जसपालाई भने छुटाउनु भएको छ ।