जनता टाइम्स

१३ आश्विन २०७६, सोमबार १४:२३

कांग्रेसका आशलाग्दा युवा नेता नै ज्ञानेन्द्र शाहीको फेरो समात्नुपर्ने दयनीय अवस्थामा पुगेपछि…


शाही घटनामा मात्रै होइन, तनहु घटनामा पनि कांग्रेस नेताहरुले बिल्कुलै झुटो प्रचार गरिरहेका छन । जनताले नमस्कार गर्दै हाम्रो गाउँपालिका सेन्टरमा हुनुपर्छ भन्दा डा मिनेन्द्र रिजालले लाठी र भालाले प्रहार गर्न खोजेको भन्दै सतप्रतिशत झुटको खेती गर्नुभएको प्रमाणित भइसकेको छ

काठमाडौं, असोज १३ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेताहरु नै पार्टीको एजेण्डा सकिएपछि गणतन्त्रबिरोधी ज्ञानेन्द्र शाहीको फेरो समातेर राजनीति गर्नुपर्ने बाध्यतामा पुग्नुभएको छ । गणतन्त्रबिरुद्ध खुलेयाम गतिबिधि गर्दै शीर्ष नेतामाथि आपत्तिजनक आक्षेप लगाउने ज्ञानेन्द्र शाहीमाथि चितवनमा भएको आक्रमणको बिषयलाई कांग्रेसका युवा नेताहरुले आफ्नो राजनीतिक उचाई प्राप्त गर्न अश्त्र बनाउनु भएको हो ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्यहरु गगन थापा, प्रदीप पौडेल, चन्द्र भण्डारी, धनराज गुरुङलगायत आशलाग्दा युवा नेताहरुले नै शाहीको फेरो समातेपछि कांग्रेस साँच्चीकै सकिने अवस्थामा पुगेको हो ? भन्ने प्रश्न खडा भएको छ । शनिबार चितवनको भरतपुरस्थित चोबिसकोठीमा ‘नेपालका लागि नेपाली’ नामक गैरसरकारी संस्थाले आयोजना गरेको कार्यक्रम सम्बोधनका लागि जाँदै गर्दा शाहीमाथि आक्रमण भएको थियो । स्थानीय ग्लोबल होटलबाट बा ३ ख ८४५८ नम्बरको माइक्रो बसमा चढेर कार्यक्रम स्थल जाँदै गरेका शाहीमाथि आक्रमण गर्नेहरुको पहिचान नखुले पनि कांग्रेसका युवा नेताहरुले उनीमाथि सत्तारुढ नेपाल कम्यनिस्ट पार्टी (नेकपा) का कार्यकर्ताहरुले नै आक्रमण गरेको झुटो प्रचार गर्दै आक्रोश पोख्नुभएको छ ।

केही समयअगाडि बाँकेको नेपालगञ्जबाट काठमाडौं आउने क्रममा पर्यटनमन्त्री योगेश भट्टराईलाई पर्खंदा जहाज उड्न ढिलाइ भएपछि शाही मन्त्रीविरूद्ध खनिएका थिए । त्यसलगत्तै उनले आफ्नो फेसबुक वालमा मन्त्रीलाई ‘वैचारिक रामधुलाइ’ गरेको लेखेका थिए । त्यसको भोलिपल्ट उनले आयोजना गरेको पत्रकार सम्मेलनमा युटुवरले हातपातको प्रयास गरेपछि प्रहरीको शरणमा पुग्नुपरेको थियो । प्रहरीमा पुगेपछि अव कहिल्यै अराजक हर्कत नगर्ने कागज गरेर शाही छुटेका थिए ।

जसका कारण पनि कांग्रेसका युवा नेताहरुले शाहीमाथि नेकपाकै कार्यकर्ताहरुले चितवनमा आक्रमण गरेको आरोप लगाउँदै बिगतमा आफैले गरेको काम बिर्सने काम गर्नुभएको छ । शाहीमाथि भएको आक्रमणपछि कांग्रेस प्रवक्ता प्रवक्ता विश्वप्रकाश शर्माले शान्तिपूर्ण विरोध सहन नसक्ने प्रवृत्तिमार्फत् सरकार पञ्चायत र कम्युनिस्ट शासनमा फरक छैन भन्ने पुष्टि गर्न खोजिरहेको टिप्पणी गर्नुभएको छ ।उहाँले मिनी माइक्रो ब्लगिङ साइट ट्विटरमार्फत् प्रधानमन्त्री केपी शर्मा ओलीलाई रगत–पसिना बगाएर बहुमत दिलाएका कार्यकर्ताको निधारमा ‘मण्डलेकरणको कालो’ पोत्ने कर्म किन गराइँदैछ ? भनेर प्रश्न गर्नुभएको छ ।

‘लोकतन्त्रका लागि मण्डले विचार र मण्डले चरित्र कुन घातक ? रगत–पसिना बगाएर बहुमत दिलाउने कार्यकर्ताको निधारमा मण्डलेकरणको कालो पोत्ने कर्म किन गराइँदैछ ?’ प्रवक्ता शर्माले लेख्नुभएको छ, ‘शान्तिपूर्ण विरोध सहन नसक्ने प्रवृत्तिमार्फत् पञ्चायत र कम्युनिस्ट शासनमा फरक छैन भन्ने पुष्टि गर्न किन खोजिँदै छ एटदीरेटपीएमनेपाल ।’ कांग्रेस नेता डा. रामशरण महतले ट्विट गर्दै फरक मत राखेर भ्रष्टाचारविरुद्ध आन्दोलन गर्नेमाथि गुन्डागिरी गर्दै पिट्ने, लखेट्नेहरू भर्त्सनाका पात्र भएको बताउनु भएको छ । त्यस्तामाथि कानुनी कारबाही हुनुपर्ने माग उहाँको माग छ ।

कांग्रेसका युवा नेता गगन थापाले शाहीमाथि आक्रमण गर्नेहरुलाई ‘विचरा’ को संज्ञा दिनुभएको छ । उहाँले सत्तारुढ नेकपाका शीर्ष नेताहरुको नाम उल्लेख नगरिकनै आक्रमणका लागि कार्यकर्ता उक्साउनेहरुसँग हिसाबकिताब माग्नुपर्ने पनि बताउनुभएको छ । ‘ज्ञानेन्द्र शाहीमाथि आक्रमण गर्ने विचरा कायरहरुका बारेमा के टिप्पणी गर्नु ? यो कायरताका लागि उक्साउनेहरु दोषी हुन् । अब हिसाबकिताब यिनैसँग माग्नुपर्छ,’ थापाले ट्विटमा भन्नुभएको छ । कांग्रेसका अर्का युवा नेता प्रदीप पौडेलले नेकपाका कार्यकर्ताहरुलाई अरिँगालको संज्ञा दिँदै कुटेर कसैको आवाज बन्द गर्न नसकिने कुरा ख्याल गर्न सुझाउनुभएको छ । शाहीको विचारसँग असहमत हुन पाइए पनि उनलाई विचार राख्ने स्वतन्त्रताबाट बञ्चित गर्न नपाइने उहाँको भनाइ छ ।

‘चाहे जुनसुकै बाहानामा होस्, कसैले कसैको पनि स्वतन्त्र रूपमा विचार राख्न पाउने अधिकारलाई हनन् गर्न सक्दैन । ज्ञानेन्द्र शाहीको विचारसँग असहमत हुन पाइन्छ तर उनलाई विचार राख्ने स्वतन्त्रताबाट बञ्चित गर्न पाइँदैन । कुटेर आवाज बन्द गर्न सकिँदैन, अंरिगालहरूलाई ख्याल होस,’ पौडेलले भन्नुभएको छ । यस्तै कांग्रेस केन्द्रीय सदस्य चन्द्र भण्डारीले पनि जनतालाई शान्तिपूर्ण रुपमा विरोध गर्ने अधिकार भए पनि सरकारले विरोध गर्ने मौका नै दिन नहुनेमा जोड दिँदै विरोधी मजबुत नबनी सरकारले सही मार्ग पहिल्याउन नसक्ने बताउनु भएको छ । ‘शान्तिपूर्ण विरोध गर्ने अधिकार जनताको हो । तर विरोध गर्ने मौका सरकारले दिनु हुँदैन । विरोधी मजबुत नबनी सरकारले सही मार्ग पहिल्याउन सक्दैन तसर्थ भिजलान्ते सतर्क बन,’ भण्डारीले भन्नुभएको छ ।

कांग्रेसका अर्का केन्द्रीय सदस्य धनराज गुरुङले शाहीले गलत काम गरेको भए कानुनी कारवाही गर्न सरकारलाई सुझाव दिनुभएको छ । ‘चितवनमा ज्ञानेन्द्र शाहीमाथि कुटपिटको खबर आएछ । शाहीले कुनै गलत काम गरेको भए कानुनी कारवाही गर्नुपर्छ तर संविधानको धारा १७ को उपधारा २ (क) ले प्रदत्त गरेको विचार र अभिव्यक्ति स्वतन्त्रताको हक अन्त भएकै हो ?’ गुरुङको भनाई छ ।

सवैजसो कांग्रेस नेताहरुले शाहीको फेरो समातेर बिना आधार नेकपामाथि आक्षेप लगाएका छन । आफूले जे आरोप लगायो,त्यही सत्य भन्दै उहाँहरु कुर्लिरहे पनि चितवन प्रहरीले अहिलेसम्म जाहेरी नै नआएको बताएको छ । शाही घटनामा मात्रै होइन, तनहु घटनामा पनि कांग्रेस नेताहरुले बिल्कुलै झुटो प्रचार गरिरहेका छन । जनताले नमस्कार गर्दै हाम्रो गाउँपालिका सेन्टरमा हुनुपर्छ भन्दा डा मिनेन्द्र रिजालले लाठी र भालाले प्रहार गर्न खोजेको भन्दै सतप्रतिशत झुटको खेती गर्नुभएको प्रमाणित भइसकेको छ ।