जनता टाइम्स

२९ बैशाख २०८१, शनिबार १२:५९

महानगरले धरपकड गरेको भन्दै कवाड व्यवसायीहरुद्धारा प्रधानमन्त्रीको ध्यानाकर्षण


काठमाडौं, २९ बैशाख । कवाड व्यवसायीहरुले प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष आफूहरुको व्यवसायमा काठमाडौं महानगरपालिकाले अवरोध गरेको भन्दै ध्यानाकार्षण गराउनुभएको छ । आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कवाड व्यवसायी समाज नेपालका अध्यक्ष रामकेवल गुप्ताको नेतृत्वमा पुग्नुभएको व्यवसायीहरुले काठमाडौं महानगरपालिकाभित्र दर्ता भई आफ्नो पेशा तथा व्यवसाय गर्दै आएका कवाडी व्यवसायीहरुलाई विस्थापित गराउनेगरि महानगरभित्रका वडा कार्यालयहरुबाट परिपत्र जारी गरिएकोमा आपत्ति जनाउनुभएको हो ।

महानगरले आफूहरुको व्यवसायिक फर्मको दर्ता नविकरणसमेत नगरेको उनीहरुको गुनासो थियो । उनीहरुले आफूहरुले प्रचलित कानूनबमोजिम दर्ता भएर सरकारलाई कर तिर्दै आएको कुरा पनि प्रधानमन्त्री दाहाललाई अवगत गराउनुभएको थियो ।

सम्मानित अदालतबाट कवाडी व्यवसायीका घर तथा टहराको संरचनालाई क्षति पुग्ने वा भत्काउने कार्य नगर्नु नगराउनु भनि (उच्च अदालत) बाट काठमाडौं महानगरपालिकाको नाममा आदेशसमेत जारी भएको कुरा उनीहरुले प्रधानमन्त्री दाहाललाई स्मरण गराउनुभएको थियो । सो क्रममा प्रधानमन्त्री दाहालले कवाड व्यवसायीहरुको व्यवसायको सुरक्षाको प्रत्याभूति गराउनको लागि सरकारले आवश्यक कदम चाल्ने विश्वास दिलाउनुभएको थियो । अदालतको आदेशविपरित कोहीपनि जान नमिल्ने प्रधानमन्त्री दाहालको भनाई थियो ।