झापा, ३० वैशाख । झापाको दमकमा एकै परिवारका पाँच जनासम्मलाई हात्तीपाइले रोग देखिएको छ । हात्तीपाइलेविरुद्ध आम औषधी सेवनको क्रममा नयाँ–नयाँ हात्ती पाइले रोगको सङ्क्रमण भएका बिरामीहरु फेला पर्न थालेका हुन् । दमकको वडा नं. ९ मा एकै परिवारका पाँच जनामा हात्तीपाइले रोगको सङ्क्रमण रहेको पाइएको हो । उक्त परिवारसहित आसपासमा जाँच तथा औषधी सेवनलाई प्रभावकारी बनाउन स्वास्थ्यकर्मीहरु परिचालित भएको दमक नगर स्वास्थ्य शाखाले जनाएको छ ।
नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख नगेन्द्र भट्टराईका अनुसार हात्तीपाइलेविरुद्ध आम औषधी सेवन कार्यक्रमको क्रममा नयाँ–नयाँ बिरामीहरु फेला परिरहेका छन् । औषधी सेवनलाई सामान्य रुपमा लिएर इन्कार गर्दा समस्या धेरै देखिएको उहाँले सुनाउनुभयो ।
दमकमा ६० देखि ७० प्रतिशतले मात्र हात्तीपाइले रोगविरुद्धको औषधी सेवन गर्ने गरेको उहाँको भनाइ छ । यो पटक ९० प्रतिशत पुर्याउने लक्ष्य भएपनि लक्ष्यमा पुगिनसकेको उहाँले बताउनुभयो । समाजमा प्रतिष्ठित तथा बुज्रुकहरुले समेत औषधी सेवन गर्न नमान्ने, जानेबुझेका र पढेलेखेकाहरु नै औषधी सेवन नगर्नेमा बढि रहेका कारण यो रोग निर्मुल पार्न समस्या भएको उहाँले जनाउनुभयो ।
प्रतिक्रिया दिनुहोस्