जनता टाइम्स

१३ आश्विन २०७६, सोमबार १५:३७

कांग्रेस नेतालाई पर्यटमन्त्री योगेश भट्टराईको काउन्टर : यी दुईमध्ये एक बिकल्प रोज्न सुझाव


काठमाडौं, असोज १३ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले प्रतिपक्षमा पुगेको पीडाका आधारमा विरोधको नाममा अराजकतालाई प्रश्रय नदिन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरुलाई सुझाव दिनुभएको छ ।

गणतन्त्रबिरोधी अराजक झुण्डलाई साथ दिएर जताततै अफवाह फैलाउने काममा कांग्रेस नेताहरु लागेपछि नेकपाका स्थायी कमिटी सदस्यसमेत रहनुभएका मन्त्री भट्टराईले कडा काउन्टर दिनुभएको हो । नेता भट्टराईले अराजकताको वकालत गर्दा आफै समाप्त हुनेतर्फ कांग्रेस नेताहरुलाई सचेत गराउनु भएको छ ।

मन्त्री भट्टराईले फेसबुकमा स्टाटस लेख्दै भन्नुभएको छ, ‘लोकतन्त्रवादीले अराजकतावादको घोडा चढ्न सुहाउँदैन । यो सिंहमाथि सवार हुनुजस्तै हो । चढ्ने बेलामा जोखिम, चढिसक्दा जोखिम अनि झर्ने बेलामा त झन जोखिम ।’ गणतन्त्रबिरोधी ज्ञानेन्द्र शाहीदेखि तनहुँमा गाउपालिका केन्द्र बिवादमा स्थानीय जनताको बिरोधलाई सत्तारुढ दलमाथि आक्षेप थोपरेपछि पर्यटनमन्त्री भट्टराईले अराजकतालाई साथ दिनेहरु लोकतन्त्रवादी हुन नसक्ने तथ्यलाई राख्नुभएको हो ।

भ्रष्टाचार विरोधी अभियानका नाममा व्यवस्था र संविधान विरोधी अभिव्यक्ति दिई अराजकतालाई बढावा दिदै आएका ज्ञानेन्द्र भनिने ज्ञानबहादुर शाहीलाई कांग्रेसले गरेको सर्मथन र तनहुँमा यथार्थबिपरित कुप्रचार गर्दै अफवाह फैलाएकोतर्फ इंगित गर्दै पर्यटनमन्त्री भट्टराईल्े जवाफ फर्काउनु भएको हो ।