काठमाडौं, ३० वैशाख । शंकरदेव क्याम्पस प्रमुख डा. कृष्णप्रसाद आचार्य र स्वतन्त्र विद्यार्थी युनियनका पदाधिकारीले आफूहरूमाथि लागेको आर्थिक अपचलनको आरोप खण्डन गर्नुभएको छ । आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उहाँहरूले आफूहरूमाथि लगाइएको आरोप प्रमाणित गरेर देखाउन चूनौति दिनुभएको हो । शंकरदेव क्याम्पस प्रशान र स्ववियूमाथि क्याम्पस प्रमुख, लेखा प्रमुख र स्ववियु पदाधिकारीसँग मिलेर आर्थिक अपचलन गरेको आरोप लागेको थियो । शंकरदेव क्याम्पस प्रमुख डा. आचार्यले आर्थिक हिनामिना र भ्रष्टाचार भइरहेको भन्ने आरोपमा आफू सहमत नरहेको बताउनुभयो ।
उहाँले आफू क्याम्पस प्रमुख भएर आउनुअघिको नेतृत्वको कामकारबाहीबारे जिम्मेवार हुन नसक्ने बताउँदै आफ्नो नेतृत्वमा क्याम्पसको सबै काम, कारबाही पारदर्शी रहेको दाबी गर्नुभयो । उहाँले मिडियाबाट आएका समाचार कापोल्कल्पित, झुठा र निराधार रहेको बताउनुभयो । उहाँले आफू क्याम्पस प्रमुख भएर आएपछिका सबै काम, कारबाहीको जिम्मेवारी लिन तयार रहेको बताउनुभयो ।
‘यस शंकरदेव क्याम्पसमा विगत लामो समयदेखि आर्थिक हिनामिना र भ्रष्टाचार भइरहेको भनि लगाइएको आरोपको सम्बन्धमा म सहमत नरहेको र म क्याम्पस प्रमुख भई आउनुभन्दा अगाडिको सन्दर्भमा म जवाफदेही हुने कुरा भएन । म क्याम्पस प्रमुख नियुक्त भई आए पश्चात मात्र भए गरेका आर्थिक लगायत सम्पूर्ण काम कारवाहीको जिम्मेवारी लिन म सदैव तयार रहेको र मैले गर्ने गरेका हरेक काम कारवाहीहरू ऐन नियम संगत र पारदर्शि तवरबाट गर्ने गराउने गरेको जानकारी गराउँछु,’ उहाँले भन्नुभयो । आफूमाथि लागेको आरोपको खण्डण गर्दै उनले क्याम्पस प्रशासनबाट विद्यार्थी संगठनहरुको लेटर प्याड दुरुपयोग नभएको बताउनुभयो ।
उहाँले शैक्षिक भ्रमण, भौतिक संरचना निर्माण, शैक्षिक सामाग्री खरिदलगायतका क्याम्पसलाई आवश्यक पर्ने सामानहरू खरिद गर्दा खरिद समितिको सिफारिसमा क्याम्पस कार्यसमितिबाट निर्णय गराई बोलकबोल प्रक्रियाबाट प्रतिष्पर्धा गराई न्यूनतम दररेटमा छनोट गर्ने गरिएको बताउनुभयो । शैक्षिक भ्रमण, भौतिक संरचना निर्माण, शैक्षिक सामाग्री खरिदलगायतका विषयमा कुनैपनि आर्थिक हिनामिना नभएको बताउनुभयो । केही व्यक्तिहरुलेले क्याम्पसबाट अनुचित लाभ लिनका लागि आफूलाई बारम्बार दवाब र दुर्व्यवहार गर्दै आएको पनि उहाँले बताउनुभयो ।
उहाँहरूको चाहना पूरा नगरिदिएवापत आफूले आरोप खेप्नुपरेको बताउनुभयो । स्ववियू अध्यक्ष सुशान्त बस्नेतले केही समूहरुले क्याम्पस प्रशासन र लेखाप्रमुखसँग मिलेर आर्थिक अपचलन गरेको आरोप लगाएको भन्दै उक्त आरोप प्रमाणित गरेर देखाउन चूनौति दिनुभयो । स्ववियू निर्वाचनपछि आफूहरुले विभिन्न रचनात्मक र सिर्जनात्मक कार्य गर्दै आएको उहाँले बताउनुभयो । आफूहरुले क्याम्पसलाई फरक पहिचान बनाउन सहयोग गरिरहेको बताउनुभयो । आफूमाथि लगाइएका कुनै आरोप प्रमाणित भएर स्ववियूको जिम्मेवारीबाट राजीनामा दिएर सजाय भोग्न तयार रहेको उहाँको भनाइ छ ।
स्ववियु अध्यक्ष बस्नेतले शंकरदेव क्याम्पसमा नियमित कक्षा सञ्चालन, गुणस्तरीय शिक्षा, सुद्ध खानेपानी, व्यवस्थित शौचालयलगायत विद्यार्थीहरूका हरेक मुद्दा र समस्या समाधानमा केन्द्रीत रहेर आफूहरुले काम गरिरहेको बताउनुभयो । आफूमाथि लागेको आरोप सत्यतथ्य छानविन भएर प्रमाणित भएमा आफू कारबाहीको भागिदार हुन तयार रहेको उहाँले बताउनुभयो । स्ववियु सचिव मदनराज उपाध्यायले शंकरदेव क्याम्पसमा विद्यार्थी पनि नरहेका, गैरविद्यार्थी र अराजक व्यक्तिहरुले आफूहरुमाथि आरोप लगाएको बताउनुभयो ।
‘शंकरदेव क्याम्पसमा विद्यार्थी पनि नरहेका, गैरविद्यार्थी र अराजक व्यक्तिहरुले हामीलाई केही लान्छना लगाउनुभएको छ । स्ववियु र शंकरदेव क्याम्पस यसको खेद प्रकट गर्न चाहन्छ,’ उहाँले भन्नुभयो । स्ववियु र क्याम्पस प्रशासन निरन्तर विद्यार्थीको एजेण्डामा केन्द्रीत रहेको उहाँको भनाइ छ । स्ववियूले गरेका काम सिर्जनात्मक, रचनात्मक र कानुनी रुपमा बैद्य रहेको उहाँको भनाइ छ। गैरविद्यार्थीहरुको दवाब र प्रभावमा केही सञ्चार माध्यमहरुमा स्ववियू र क्याम्पस प्रशासनविरुद्ध समाचार आएको उहाँले बताउनुभयो । आफूहरुमाथि छानविन भए अनुसन्धानमा सघाउन तयार रहेको पनि उहाँले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्