काठमाडौं, ३१ बैशाख । मंगलबार संसदको संयुक्त बैठकमा प्रस्तुत हुने सरकारको नीति तथा कार्यक्रम कांग्रेसको अवरोधका कारण अन्योलमा परेको छ । नेपाली कांग्रेसले संसद बैठक अवरुद्ध गर्ने अडान कायम राखेपछि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने विषय अन्योलमा परेको हो । यसैबीच सभामुख देवराज घिमिरेले चितवनमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालसँग फोन वार्ता गरी सरकारको नीति तथा कार्यक्रम सम्बन्धमा छलफल गर्नुभएको छ ।
उहाँहरूबीच राजनीतिक सहमतिका लागि प्रधानमन्त्रीबाट भएका प्रयास र संसदको तयारीबारे छलफल भएको उहाँको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीले राजनीतिक सहमतिका लागि प्रमुख प्रतिपक्षी दलसँग छलफल भएको जानकारी दिनुभएको थियो ।
उहाँले सत्ताघटक दलहरूसँग पनि विपक्षीका मागबारे छलफल भएको र आज साँझसम्म निष्कर्षमा पुगिने उल्लेख गर्नुभयो । प्रधानमन्त्रीले आफू चितवनबाट फर्केलगत्तै संवाद सुरु गर्ने बताउनुभयो । उहाँले राष्ट्रपतिसँग भएको छलफलबारे पनि सभामुखलाई जानकारी गराउनुभएको थियो । सभामुखले कानून, न्याय तथा संसदीय मामिला मन्त्रीसहित प्रमुख दलका मुख्य सचेतक तथा प्रमुख सचेतकसँग आइतबार गरेको छलफल कुनै निष्कर्षमा पुग्न सकेको थिएन ।
प्रतिक्रिया दिनुहोस्