जनता टाइम्स

३१ बैशाख २०८१, सोमबार १३:२१

मुख्यमन्त्री सोडारीद्धारा विश्वासको मत लिन प्रदेश सभा बैठक आव्हान


धनगढी, ३१ बैशाख । सुदूरपश्चिम प्रदेशको बैठक आह्वान गरिएको छ । बैठक जेठ ३ गते बिहान सवा १० बजेका लागि आह्वान गरिएको हो । यस बैठकबाट मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिने तयारी गरिएको छ ।

सूचनामा भनिएको छ, ‘सुदूरपश्चिम प्रदेश सरकारका माननीय मुख्यमन्त्री श्री दीर्घ बहादुर सोडारीज्यूले मिति २०८१ जेठ ३ गते बिहीबार बिहान १०ः१५ बजे प्रदेश सभाबाट विश्वासको मत लिने प्रयोजनार्थ प्रदेश सभाको वैठक बस्ने भएकाले सम्पूर्ण माननीय प्रदेश सभा सदस्यज्यूहरुको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’ विश्वासको मतको लागि बोलाइएको यो तेस्रो पटक हो ।

यसअघि बैशाख २१ र २२ गते पनि प्रदेश सभा बैठक बोलाइएको भएपनि बैठक स्थगित गरिएको थियो । मुख्यमन्त्री सोडारीलाई सत्ता घटक एमालेले विश्वासको मत नदिने अडान लिएका कारण यस अघिका बैठक स्थगित गरिएको थियो । ५२ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा कांग्रेसका १८, माओवादी केन्द्रका ११, नेकपा एमालेका १०, नाउपाका ७, एकीकृत समाजवादीका ४, राप्रपा र स्वत्रन्त्रका एक÷एक सांसद रहेका छन् ।