काठमाडौं, १ जेठ । क्रिकेटर सन्दीप लामिछाने विरुद्ध दायर भएको जबरजस्ती करणीसम्बन्धी मुद्दाको उच्च अदालत पाटनमा बहस जारी रहेको छ। न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासमा बहस भइरहेको छ ।
न्यायाधीशद्वयले यो मुद्दामा आजै बहस सक्नुपर्ने भन्दै वरिष्ठ अधिवक्ताहरूलाई समेत बहसमा समय निर्धारण गर्दै कडाइ गरिरहनु भएको छ । हालसम्म लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापा, रमण श्रेष्ठ,कृष्ण सापकोटा, मुरारी सापकोटा,सरोजकृष्ण घिमिरे, रामनारायण विडारी र रोशनी पौडेल लगायतले बहस गर्नुभएको छ ।
लामिछाने निर्दोष भएको र उहाँले जबरजस्ती नभई सहमतिमै शारीरिक सम्बन्ध राखेको दाबी उहाँहरूले गर्नुभएको छ । उहाँहरूको बहस सकिएपछि जाहेरवालाका तर्फबाट आश्मा आचार्यले बहस थाल्नु भएको छ । जाहेरवालाका तर्फबाट मोहना अन्सारी दिनेश त्रिपाठी लगायतले बहस गर्ने तयारी गर्नुभएको छ । उहाँहरूको बहसपछि फेरि सरकारी वकिलहरूले जवाफी बहसका लागि समय पाउनु हुनेछ । सरकारी पक्षको जवाफ पछि न्यायाधीशहरुले आज नै फैसला सुनाउने तयारी गर्नुभएको छ ।
यसअघि जिल्ला अदालत काठमाडौँले लामिछानेलाई बलात्कारमा दोषी ठहर गर्दै ८ वर्ष कैद र जरिवानाको फैसला सुनाएको थियो । उक्त फैसलामा चित्त नबुझाउँदै सरकार र लामिछाने दुवै उच्च अदालत पाटन आएका थिए ।













प्रतिक्रिया दिनुहोस्