जनता टाइम्स

१४ आश्विन २०७६, मंगलवार ०६:१९

ज्येष्ठ नागरिक दिवसमा प्रधानमन्त्री ओलीको अठोट : सरकारको पाँचवर्षे कार्यकालभित्रै पाँच हजार वृद्ध भत्ता


काठमाडौं, असोज १४ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले ज्येष्ठ नागरिकबाट प्राप्त हुने प्रज्ञा, सीप र अनुभवलाई राष्ट्रको सामाजिक–आर्थिक रुपान्तरण एवं विकासका लागि परिचालन गर्नुपर्ने बताउनुभएको छ । अन्तरराष्ट्रिय ज्येष्ठ नागरिक दिवसका उपलक्ष्यमा शुभकामना सन्देश दिँदै उहाँले सरकारले ज्येष्ठ नागरिकको ज्ञान र अनुभवमा आधारित सीपलाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने वातावरणको सिर्जना गर्दै गरेको जनाउनुभएको छ । उक्त सन्देशको पूर्ण विवरण–

“आदरणीय आमाबुबा तथा दाजुदिदीहरु

आज अक्टोबर १ अर्थात् २९औँ अन्तरराष्ट्रिय ज्येष्ठ नागरिक दिवस । यस अवसरमा जीवनका उकाली–ओराली पार गर्दै, असिम ज्ञान, सीप र अनुभव संगाल्ने सम्पूर्ण ज्येष्ठ नागरिक नेपालीहरूप्रति हार्दिक बधाई तथा शुभकामना प्रकट गर्दछु । म तपाईंहरुको सुस्वास्थ्य र खुशीयालीपूर्ण दीर्घजीवनको कामना गर्दछु ।

संयुक्त राष्ट्र सङ्घको आह्वानमा सन् १९९१ देखि हरेक वर्ष अक्टुबर १ लाई इन्टरन्यासनल डे अफ ओल्डर पर्सन्स अर्थात् अन्तरराष्ट्रिय ज्येष्ठ नागरिक दिवसका रूपमा मनाउने गरिएको छ । आज ‘द जर्नी टु एज इक्वालिटी अर्थात् उमेरकै कारण गरिने विभेद–अन्त्यको यात्रा’ भन्ने नाराका साथ संसारभरि नै अन्तरराष्ट्रिय ज्येष्ठ नागरिक दिवस भव्यतापूर्वक मनाइँदैछ ।

नेपाल सरकारको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र ज्येष्ठ नागरिकको हकहित संरक्षण एवं सम्वद्र्धनका लागि छाता सङ्गठनका रूपमा कार्यरत राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घलगायत विभिन्न सङ्घसंस्थाले यस दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गर्दै छन् ।

मानव जीवनमा ज्ञानका स्रोतमध्ये सबैभन्दा उत्कृष्ट स्रोत अनुभव हो । यसको पाठ्यसामग्री र पाठशाला जीवन हो । पुस्तकबाट प्राप्त ज्ञानभन्दा कैयौँगुणा उपयोगी यस्तो प्रायोगिक ज्ञानलाई हामी प्रज्ञा भन्छौँ । ज्येष्ठ नागरिकबाट प्राप्त हुने प्रज्ञा, सीप र अनुभवलाई राष्ट्रको सामाजिक–आर्थिक रुपान्तरण एवं विकासका लागि परिचालन गर्नुपर्दछ भन्ने सरकारको मान्यता छ । यसका लागि सरकारले ज्येष्ठ नागरिकको ज्ञान र अनुभवमा आधारित सीपलाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने वातावरणको सिर्जना गर्दैछ । ज्येष्ठ नागरिकहरुको मार्गदर्शनमा परिवार र समाजले सही दिशाको पहिचान अनि असल संस्कृतिको प्रवद्र्धन गर्न सक्दछ ।

व्यक्तिको सरदर आयुमा भएको वृद्धिसँगै हाम्रो समाजमा पनि ज्येष्ठ नागरिकको जनसङ्ख्या तीव्र गतिमा बढ्दैछ । अहिले हाम्रो देशमा करीव ३० लाख ज्येष्ठ नागरिक हुनुहुन्छ । आफ्नो ऊर्जाशील समय कुनै न कुनैरुपमा राष्ट्रका लागि समर्पित गर्ने ज्येष्ठ नागरिकको सामाजिक सुरक्षाको प्रत्याभूति गर्ने क्रममा वर्तमान सरकारले ज्येष्ठ नागरिक स्वास्थ्य बीमा, सामाजिक सुरक्षा भत्तालगायत विभिन्न कार्यक्रम सञ्चालन गरेको छ ।

नेपालका प्रत्येक ज्येष्ठ नागरिकको जीविका र रहन सहन मानवोचितस्तरमा सुनिश्चित गर्न सरकारले कानूनमार्फत नै ठोस व्यवस्था गर्ने नीति लिएको छ । यसबीच वर्तमान सरकारले अघि सारेको हरेक अस्पतालमा जेरियार्टिक वार्ड अर्थात् ज्येष्ठ नागरिक वार्ड सञ्चालन गर्ने नीतिको कार्यान्वयन केही अस्पतालबाट शुरु भइसकेको छ ।

नेपालमा पहिलोपटक स्वर्गीय मनमोहन अधिकारीको नेतृत्वमा बनेको कम्युनिष्ट पार्टीको एकल सरकारले मासिक १०० रुपैयाँबाट ज्येष्ठ नागरिकका लागि सामाजिक सुरक्षाभत्ताको शुरुआत गरेको थियो । जनबोलीमा वृद्ध भत्ता भन्ने गरिएको उक्त भत्ताको राशि २०७६ साउनदेखि तीन हजार रुपैयाँ पुर्याइएको छ । वर्तमान सरकारले आफ्नो पाँचवर्षे कार्यकालभित्रै त्यसलाई पाँच हजार पुर्याउनेछ ।

विसं २०७६ को प्रारम्भसँगै वर्तमान सरकारले ७० वर्ष पुगेका ज्येष्ठ नागरिकलाई योगदान रकम सरकारले नै बेहोर्ने गरी निःशुल्क स्वास्थ्य बीमामा आबद्ध गर्ने नीति कार्यान्वयन गर्न थालिसकेको यहाँहरुलाई विदितै छ । यतिखेर झण्डै अढाई लाख ज्येष्ठ नागरिक वार्षिकरुपमा रु एक लाख बराबरको तोकिएका सुविधा सेवा विभिन्न स्वास्थ्य संस्थाबाट प्राप्त गरिरहनुभएको छ । चालू आर्थिक वर्षभित्र ७७ वटै जिल्लाका ज्येष्ठ नागरिकलाई यस योजनामा आबद्ध गरिनेछ ।

सातवटै प्रदेशमा ज्येष्ठ नागरिक आरोग्य आश्रम निर्माण गर्ने सरकारको योजना कार्यान्वयनको चरणमा रहेको छ । स्रोत र साधन अपर्याप्त हुँदाहुँदै पनि ज्येष्ठ नागरिकका लागि सरकारले सामाजिक तथा स्वास्थ्य सुरक्षाको व्यवस्था मात्र गरेको छैन । यो सरकार यातायात सेवामा पनि ज्येष्ठ नागरिकका लागि सिट आरक्षण र भाडा छुट जस्ता सुविधाको व्यवस्था गर्नसमेत प्रयत्नशील छ ।

यस अवसरमा म, हाम्रो सामाजिक–सांस्कृतिक परम्पराअनुरुप परापूर्वकालदेखि कायम रहँदै आएको आफूभन्दा ठूलाको आदर र कदर गर्ने संस्कारलाई अक्षुण्ण राख्न सबै नेपालीप्रति विशेष आग्रह गर्दछु । साथै, हाम्रो समाजका अनुभव र सीपका धरोहर सम्पूर्ण आमाबुबा र दिदीदाजुलाई एकपटक फेरि हार्दिक नमन गर्न चाहन्छु ।