काठमाडौं, जेठ ८। नेपाल प्रहरीका ९ जना प्राविधिक प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।
प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित विशेष समारोहबीच प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले अधिकृतहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो
नेपाल सरकार उपप्रधान एवं गृहमन्त्री स्तरको ०८१ जेठ ६ गतेको निर्णयअनुसार प्राविधिक प्रहरी उपरीक्षकबाट प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक पदमा १ जना तथा नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर) को २०८१ जेठ ६ गतेको निर्णयअनुसार प्राविधिक प्रहरी वरिष्ठ नायव निरीक्षकबाट प्राविधिक प्रहरी निरीक्षक पदमा ९ जना गरी जम्मा १० जना प्रहरी अधिकृतको पदोन्नति भएको थियो ।
दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनेमा प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक ज्ञानेन्द्र कुमार राई तथा प्राविधिक प्रहरी निरीक्षकहरू सरिता केसी, सोनिम महत्तो, शैलेन्द्र कुमार सिंह, गणेश कुमार पाण्डेय, बलदेव बडु, तीर्थ बहादुर थोकर, राजन बहादुर बुढाथोकी र हिमाल खड्का हुनुहुन्छ ।
पदोन्नति भएकामध्ये प्राविधिक प्रहरी निरीक्षक भगवान प्रसाद कुशवाह वैदेशिक तालिमका लागि हाल कोरियामा छन् ।
दर्ज्यानी चिन्ह सुशोभन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले पदोन्नतिसँगै प्राप्त जिम्मेवारीलाई साङ्गठनिक हितमा थप हौसला र लगनशीलताका साथ सेवा गर्नका निम्ति प्रहरी अधिकृतहरू थप उत्प्रेरित हुने विश्वास व्यक्त गर्नुभयो । समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षक भीमप्रसाद ढकाललगायतका बरिष्ठ अधिकारीहरुको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्