काठमाडौं, ८ जेठ । सशस्त्र प्रहरी बल, नेपालको ईतिहासमा पहिलोपटक संगठनको प्रतिनिधित्व गर्दै सशस्त्र प्रहरी निरीक्षक सुरज पौडेलले सोमबार विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नुभएको छ । जेठ ७ गते सोमबार बिहान १०ः२० बजेको समयमा उहाँले सगरमाथाको सफल आरोहण गर्नुभएको हो ।
नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको पर्यटन विभागबाट २०८० साल चैत्र २८ गते हिमशिखर आरोहण अनुमति प्राप्त गरी इलाइट एक्सपेड नेपाल एपीएफ एभरेष्ट एक्सपेडिसन २०२४ नामक पर्वतारोही दलको नेतृत्व गर्दै शेर्पा एक्सट्रिम प्रा.लि. मार्फत सशस्त्र प्रहरी निरीक्षक पौडेल सगरमाथामा आरोहणका लागि गत चैत्र ३० गते त्यसतर्फ जानुभएको थियो ।
उहाँले यस बिचमा सगरमाथासँगै रहेको लुवुचे हिमालको समेत सफल आरोहण गर्नुभएको थियो । गत जेठ ३ गते सशस्त्र प्रहरी निरीक्षक पौडेलसहितको आरोहण टोली सगरमाथाको चुचुरोतर्फ प्रस्थान गरेको थियो । सशस्त्र प्रहरी बल, नेपालले उत्तरतर्फको कठिन भूगोलमा समेत आफ्नो उपस्थिती जनाउँदै लगेको अवस्थामा यस आरोहणले आगामी दिनमा हिमाली भेगमा हुने विपद् व्यवस्थापन कार्यमासमेत सहयोग पुग्ने संगठनले अपेक्षा लिएको छ ।
हिमाली भेगमा हुने विपद् व्यवस्थापन उद्धारका लागि दक्ष जनशक्ति उत्पादन गर्ने उद्धेश्यले सशस्त्र प्रहरी बल, नेपालले पर्वतिय उद्धार तालिम शिक्षालय स्थापना गरि सकिएको छ । यसबाट दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य लिएअनुरुप सगरमाथाको सफल आरोहणले त्यस प्रकारका तालिमलाईसमेत गुणस्तरीय बनाउन मद्दत पुग्नेछ । विश्वको सर्वोच्च शिखर सगरमाथा सीमा क्षेत्र समेत रहेकोले नेपालको होचो भू–भाग झापा जिल्लाको केचनाकवलदेखि सीमाको अधिकतम उचाईसम्म सशस्त्र प्रहरी बल, नेपालको उपस्थितीको रुपमा समेत संगठनले यसलाई लिएको छ ।
जेठ ७ गते सोमबार १०ः२० बजेको समयमा सशस्त्र प्रहरी निरीक्षक सुरज पौडेलले उत्तरी सीमानामा पर्ने विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकै समयमा दक्षिणी सीमाना नजिक पर्ने झापाको ५८ मिटर उचाईमा रहेको केचनाकवलमा बि.ओ.पि. केचनाबाट सशस्त्र प्रहरी निरीक्षक केशव मैनाली कमाण्डको टोली पुगेको थियो । यसरी सबैभन्दा अग्लो र होचो भू–भागमा सशस्त्र प्रहरीका अधिकृत तथा गस्ती टोली एकैसाथ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्