अहमदाबाद, जेठ ९ । पहिलो क्वालिफायरमा सनराइजर्स हैदराबादलाई हराउँदै कोलकाता नाइट राइडर्स इन्डिन प्रिमियर लिग (आईपीएल) को फाइनलमा प्रवेश गरेको छ ।
मंगलबार राति भएको खेलमा कोलकाता नाइट राइडर्स ८ विकेटले विजयी बनेको हो । खेलमा हैदराबादले प्रस्तुत गरेको १ सय ६० रनको मध्यम लक्ष्य कोलकाताले ३८ बल बाँकी छँदै पछ्यायो । वेंकटेश ऐयर र श्रेयस ऐयरले अर्धशतकीय इनिङ्स खेल्दै टोलीलाई जित दिलाएका हुन ।
कप्तान श्रेयसले मात्र २४ बलमा ५८ रन जोडे । उनले यस क्रममा ५ चौका र ४ छक्का हिर्काए । त्यस्तै, वेंकटेशले २८ बलमा ५१ रन बनाए । उनले पनि ५ चौका र ४ छक्का प्रहार गरेका थिए । यस्तै रहमानुल्लाह गुरबाजले २३ रन तथा सुनिल नरेनले २१ रनको योगदान दिए । हैदराबादका लागि प्याट कमिन्स र टी नटराजनले एक–एक विकेट हात पारे ।
यसअघि मिचेल स्टार्क र वरुन चक्रवर्तीको घातक बलिङसामु हैदराबाद १९.३ ओभरमा सबै विकेट गुमाउँदै १ सय ५९ रन जोडेको थियो । स्टार्कले ३ तथा चक्रवर्तीले २ विकेट लिएका थिए । हैदराबादका लागि राहुल त्रिपाठीले सर्वाधिक ५५ रन बनाए भने हेनरिच क्लासनले ३२ रन, कप्तान कमिन्सले ३० रन तथा अब्दुल सामदले १६ रन बनाए । अन्य ब्याट्सम्यानले भने खासै योगदान दिन सकेनन् ।
हारका बाबजुद हैदराबादले फाइनलमा जानका लागि अर्को मौका प्राप्त गर्नेछ । बुधवार अर्थात आज हुने राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बैंगलोर बिचको विजेतासँग टोलीले दोस्रो क्वालिफायर खेल्नेछ । सो खेलमा बिजयी बने हैदरावाद फाइनलमा पुग्नेछ ।
प्रतिक्रिया दिनुहोस्