चितवन, जेठ ११ । शनिवारबाट सुरु हुन लागेको नेकपा एमाले चितवनको ११औं जिल्ला अधिवेशनको तयारी पूरा भएको छ । एमाले चितवनले आज पत्रकार सम्मेलन गरी अधिवेशनको तयारी परा भएको जानकारी दिएको हो ।
कुल ७६१ प्रतिनिधि सहभागी हुने जिल्ला अधिवेशनको उदघाटन एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने तय भएको इञ्चार्ज तथा पोलिटब्यूरो सदस्य पार्वत गुरुङले जानकारी दिनुभयो ।
भरतपुर महानगरपालिका –४ को ग्यालेक्सी रिसोर्टमा हुने उदघाटन समारोहमा एमालेका केन्द्रीय नेताहरुको सहभागिता रहने एमाले जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानले जानकारी दिए । अधिवेशनले अध्यक्ष एक, उपाध्यक्ष एक, सचिव एक र दुई जना उपसचिवसहित १२० सदस्यीय जिल्ला कमिटी चयन गर्नेछ ।
अध्यक्ष रामप्रसाद न्यौपानेका अनुसार जिल्ला कमिटीमा कम्तिमा ३३ प्रतिशत महिला र १५ प्रतिशत युवा अनिवार्य गरिएको छ । त्यसमा १० प्रतिशत पछि मनोनित गर्न सकिने व्यवस्था छ । अधिवेशनमा जिल्लाका ७ पालिका, विभिन्न जनवर्गीय संगठन, सम्पर्क मञ्च लगायत गरी ७३२ जना र २९ मनोनित गरी ७६१ जना प्रतिनिधि सहभागी हुनेछन् ।
एमाले चितवनका अध्यक्ष न्यौपानेले नयाँ नेतृत्व चयनमा अधिकत्तम सहमतिको प्रयास गरिने र सहमति हुन नसके निर्वाचनबाट नयाँ नेतृत्व चयन गरेर जाने बताउनु भयो । अध्यक्षका लागि वर्तमान अध्यक्ष न्यौपाने, उपाध्यक्ष कमलराज पाठक लगायतले इच्छा जनाउनु भएको छ । इञ्चार्ज गुरुङको चाहना भने सर्वसम्मत नेतृत्व चयनमै रहेको छ । सोही अनुसार उहाँले भूमिका निर्वाह गरिरहनु भएको छ ।
अधिवेशन सम्पन्न गर्न एमाले चितवनका अध्यक्ष न्यौपानेको संयोजकत्वमा ४९९ सदस्यीय मूल व्यवस्थापन समितिसहित विभिन्न उपसमिति बनाएको छ । अधिवेशनको अवसरमा १२ गते बिहान अनेरास्ववियु चितवन र राष्ट्रिय युवा संघ नेपाल भरतपुर महानगर कमिटीले रक्तदान कार्यक्रम समेत आयोजना गरेको छ ।
प्रतिक्रिया दिनुहोस्