जनता टाइम्स

११ जेष्ठ २०८१, शुक्रबार १८:०२

फतुवा बिजयपुरमा निशुल्क बिजुली पानी र भ्रष्टाचार बिरुद्ध आजपाले संघर्ष गर्ने


रौतहट ११ जेठ । रौतहटको फतुवा बिजयपुर नगरपालिकामा निःशुल्क बिजुली पानी र बढ्दो भ्रष्टाचार बिरुद्द आमजनता पार्टीले संघर्ष गर्ने निर्णय गरेको छ । प्रभु साह नेतृत्वको आजपाको शुक्रवार बसेको नगरकमिटीको बैठकले निःशुल्क बिजुली पानी र भ्रष्टाचार बिरुद्द संघर्ष गर्ने निर्णय गरेको हो । नगरपालिकामा बढदो लुट एवं भ्रष्टाचारको बिरुद्धमा कडारुपमा संघर्ष गर्ने निर्णय समेत भएको छ । बैठकमा संगठन निर्माण एवं विस्तारका बारेमा ठोस योजनामा छलफल भएको छ ।

पार्टीको नगर कमिटीको कार्यालय सञ्चालनमा ल्याउँने, नगरकमिटीका जनवर्गीय संगठनहरु निर्माण गर्ने, प्रत्येक वडा कार्यालयमा पार्टीको वडा कमिटी निर्माण गर्ने लगायतका निर्णय बैठकले गरेको छ । आजपा फतुवा बिजयपुर नगरकमिटीका अध्यक्ष बिजय यादवको अध्यक्षतामा बसेको बैठकमा नगरकमिटी इन्चार्ज प्रदिप पटेल, पार्टीका स्थायी कमिटी सदस्यहरु कान्ति देवी महतो, संजय यादव, नगर उपाध्यक्ष शेरबहादुर पटेल, पुर्व वडा अध्यक्ष लगायतको सहभागिता रहेको थियो ।

बिभिन्न निर्णय सहित संघर्ष एवं पार्टी निर्माण गर्ने निर्णय गरेको आजपाले मधेस प्रदेशमा अपुग शिक्षक एवं बिषयगत शिक्षक बिद्यार्थीको अनुपातमा हुनुपर्ने माग गर्दै संघर्षका बिभिन्न कार्यक्रम जारी राखेको छ । मधेस प्रदेशका आठ वटै जिल्लामा आजपा निकटको आम बिद्यार्थी मोर्चाले बिद्यार्थी अनुपातमा बिषयगत र अपुग शिक्षकको व्यवस्था गर्नुपर्ने माग गर्दै बिभिन्न कार्यक्रम गरिरहेको बिद्यार्थी मोर्चाका अध्यक्ष विवेक साहले जनाएका छन् ।