जनता टाइम्स

१४ आश्विन २०७६, मंगलवार १९:०१

महरामाथि बलात्कारको आरोप लगाउने रोशनी शाहीको बयान : बलात्कार गरेको भन्ने मेरो आरोप झुटो हो


काठमाडौं, असोज १४ । सभामुख कृष्णबहादुर महरामाथि ‘जवरजस्ती करणी’को गम्भीर आरोप लगाएकी संसद सचिवालयमा कार्यरत कर्मचारी रोशनी शाहीले बोली फेरेकी छन । बलात्कारको आरोपपछि महराले सभामुख पदबाट राजीनामा दिएसँगै शाहीले पनि आवेगमा गलत कुरा भनेको भन्दै बोली फेरेकी हुन ।

नागरिक खवर अनलाइनसँग भिडियो सम्वाद गर्दे शाहीले सभामुख महराले आफूमाथि कुनै दुब्र्यवहार नगरेको बताएकी हुन । आफूले डिप्रेसनको औषधी सेवन गरिररहेको र कर्मचारी समायोजनको क्रममा चाहेको ठाउँमा नपर्दाको रिसले महरामाथि गलत आरोप लगाउन पुगेको शाहीको भनाई छ । नागरिकखबरलाई भिडियो अन्तर्वार्ता दिँदै शाहीले आइतबार साँझ आफ्नो कोठामा कोही पनि नआएको र सभामुख महरासँग लामो समयदेखि भेटघाटसमेत नभएको बताएकी छन । ‘त्यो दिन मेरो कोठामा कोही आएको छैन । महरा सरसँग संसद सचिवालयमा कहिले काँही बीपी चेक गराउँदा भेट हुने हो, अहिले त धेरै भयो भेट पनि नभएको,’ शाहीको भनाई उधृत गर्दै सो अनलाइनले समाचार दिएको छ ।

शाहीले महरा आफ्नो बुवा सरहको मानिस भएको बताउँदै रिसको झोंकमा आफूले भनेका सबै कुरा गलत भएको जिकिर पनि गरेकी छन । ‘उहाँ (महरा) मेरो बाउ समानको मान्छे हो । उहाँमाथि लागेको आरोपमा कुनै सत्यता छैन । मैले रिस उठेको बेलामा के के भने यी सब निराधार हुन् । त्यसमा कोही पनि भ्रममा नपर्नु होला, मैले रिस उठ्दा भनेका के के कुरालाई पत्रकारले बंगाएर लेखिदिएछन,’ शाहीको भनाई छ ।

उनले महराले कर्मचारी समायोजनमा चाहेको ठाउँमा नभएको नआत्तिन भनेर फोन गरेको पनि बताएकी छन । ‘पछिल्लो समय मलाई कर्मचारी समायोजनमा नमिलेपछि बेस्सरी रिस उठिरहेको थियो । त्यसै झोंकमा मैले के के भने ती सबै गलत हुन, महरा सरले फोन त गर्नुभएको हो । उहाँले तिमिहरु कोही पनि आत्तिनु पर्दैन । चिकित्सकदेखि सबैको समायोजनमा म मिलाउने प्रयास गर्छु भनेर सम्झाउन फोन गर्नुभएको हो,’ शाहीको बयान छ ।

शाहीले आफूले विगत आठवर्षदेखि डिप्रेसनको औषधि सेवन गरिरहेको बताउँदै सोही कारण गलत आरोप लगाउने पुगेको पनि बताएकी छन । ‘म आठ वर्षदेखि डिप्रेसनमा छु । आमाको निधनपछि डिप्रेसनमा छु । नियमति औषधि सेवन गरिरहेको छु’, उनले भनेकी छन ।
शाहीले आरोप लगाएपछि नेकपाले महरालाई सभामुख र सांसद दुवै पदबाट राजीनामा दिन निर्देशन दिएअनुसार महराले आजै उपसभामुख समक्ष राजीनामा दिनुभएको छ । महराको पद गएसँगै शाहीले पनि आफ्नो बयान फेरेकी हुन ।