काठमाडौं, १४ जेठ । पर्यटन बिभागले आरोही निर्मल पुर्जाले सगरमाथा आरोहणका लागि टाँगीएको डोरी काटिएको भन्ने गलत जानकारी दिएको भन्दै खण्डन गरेको छ । पर्यटन विभागले सोमबार एक विज्ञप्ति जारी गर्दै पुर्जाले सामाजिक सञ्जालमार्फत गलत जानकारी दिएको भन्दै अहिले सगरमाथा आरोहणका लागि टाँगीएका सबै डोरीमा कुनै समस्या नरहेको दाबि गरिएको छ । पुर्जाले सामाजिक सञ्जालमा एक भिडियो पोष्ट गर्दै आफ्नो टोलि आरोहण गर्न गइरहेको अवस्थामा डोरी काटिएको बताउनुभएको थियो ।
उहाँले आरोहण क्षेत्रमा राजनीति भएको र अब आफु चुप नबस्ने समेत बताउनुभएको थियो । बिभागले आज समेत सगरमाथाको सफल आरोहण भएको र पुर्जाले भने जस्तो कुनै डोरी नकाटिएको बताएको छ ।
बिभागले आरोहणमा कुनै समस्या नरहेकोले ढुक्कसँग आरोहण गर्न समेत आग्रह गरेको छ । साथै बिभागले जारी गर्ने सूचना, फिल्ड कार्यालय र सम्पर्क अधिकृतबाट सम्प्रेषण हुने सूचना बाहेक भ्रामक सूचना प्रवाह गर्ने समग्र पर्वतीय पर्यटन एवं राष्ट्रको इज्जतमा धक्का पुग्न सक्ने अफवाहमा नलाग्न अपिल गरेको छ । साथै विभागले सधै चर्चित हुने गरि अनाधिकृत सूचना सम्प्रेषण गर्ने काममा संलग्न पुर्जा र अन्य व्यक्तिहरुमाथि छानबिन प्रक्रियासमेत अगाडी बढाएको बिभागले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्