जनता टाइम्स

१४ आश्विन २०७६, मंगलवार २१:२१

महरामाथि बलात्कारको आरोप लगाउने शाहीको फेरियो बयान : महरा सरले होइन, मिडियाले बलात्कार गर्यो


काठमाडौं, असोज १४ । संसद सचिवालयमा कार्यरत महिला कर्मचारी रोशनी शाहीले मिडियाले नै शतप्रतिशत झुटो समाचार लेखेको भन्दै तात्कालिन सभामुख कृष्णबहादुर महराको बचाउ गरेकी छन । हिजो मात्रै एउटा अनलाइनमार्फत महरामाथि बलात्कारको आरोप लगाएकी शाहीले आज अर्काे अनलाइनमा भिडियो संवाद गर्दै महरा आइतवार आफ्नो कोठामै नआएको बताएकी हुन ।

‘महरा सर मेरो कोठामा आउनुभएकै छैन, त्यो मिडियाले झुटो समाचार लेख्यो,’ नागरिक खवरका सम्पादक रोशन पुरीसँगको कुराकानीमा शाहील्े भनेकी छन । हिजो मात्रै हाम्रोकुराका सम्पादक अजयबाबु शिवाकोटीसँग शाहीले महराले बलात्कार गरेको र कुटपीटसमेत गरेको आरोप लगाएको भिडियो सार्वजनिक भएको थियो । शाहीले शिवोकाटीसँग पनि आफूले महरा आफ्नो कोठामा नआएको बताए पनि झुटो कुरा प्रचार गरेर सुनियोजित रुपमा फसाउने काम गरेको बताइन । ‘महरा सर मेरो कोठामा आउनु भएकै थिएन । त्यो मिडियाले भाको नभाको कुरा मिडियाले लेखिदिएछन,’ शाहीले भनेकी छन ।

उनले महरा र आफूमाथि सारिरीक सम्पर्कको कुरा सोच्नु नै अपराध भएको बताइन । ‘बाबु छोरीकै नातामा कसैले शंका गर्छ भने त के भनौं,’ शाहीले भनिन, ‘कल्ले यस्तो गर्यो भन्ने मुल कुरा हो । मसँग भको कुरा यही हो । मैले भनेको कुरालाई एउटा बाबु छोरीको नातामा संका गर्छ भने त तपाईको पनि छोराछोरी होलान ।’ शाहीले आफूसँग कुराकानी गर्न आएका शिवाकोटीले नै महराले आफूमाथि दुब्र्यवहार गरेको घटना सुनाएको उल्टै आरोप लगाएकी छन । ‘आउँदै नआको मान्छेलाई आको छ भनेर ब्लेम लगाउने ? सुनियोजित ढंगले उहाँलाई पदबाट हटाएर आफू आउने खेल रहेछ,’ शाहीले भनिन ।

उनले आवेगमा आफूले बोलेको भएपनि त्यही कुरा पनि बंग्याएर उल्टो बनाइएको जिकिर गरिन । ‘मलाई प्रभावित पारेको मेरो रिस र आवेगले नै हो,’ शाहीले भनिन । उनले आफ्नो कोठामा आइपुगेका पत्रकार शिवाकोटीले महराको बिषय उठाउँदा आउनु भएकै छैन भनेको तर उल्टो समाचार आएको दावी गरिन ।

पत्रकारबारे यस्तो छ बयान

‘त्यो मिडिया मेरो कोठा खोजेर आयो कसरी ? मलाई नै अचम्म लाग्यो । कित त्यो मान्छेले पहिलादेखि नै मेरो पिछा गरेको हुुनुपर्छ । आएपछि तपाईको थोरै कुराकानी गर्छु भन्नुभयो । म आफै अलिक डिप्रेशन भएको थिए, अलिक बढी डोज पनि लिएको थिएँ । ढोकामा घन्टी बज्यो । घरभेटी कोही पनि नभाको । एक्कासी एकजना मान्छे आउनु भयो मेरै रुममा । केटा मान्छे हुनुहुन्थ्यो । कसलाई खोज्नुभएको भनें, तपाई रोशनी शाही हो भनेर सोध्नुभयो, ढाँटनु किन ? मैले हो भने । ढोका खोलेर भित्र आउनु भयोे, तपाईंसँग कुरा गर्नुछ, मिल्छ कि मिल्दैन भने । मैले मिल्छ भनें । उहाँले आइफोन ट्याव लिएर आउनु भएको थियो ।

त्यसपछि उहाँले एक जना दिदीले पठाउनु भाको भन्नुभयो । को दिदीले पठाएको भने तर नाम भनेनन । यहाँ यस्तो यस्तो कुरा सुनियो ? बुझ्न आको भने । सभामुखले तपाईलाई हर्याशमेन्ट गर्नुभयो रे भनेर आएको भने । को हो त्यो मान्छे भन्दा दिदी मात्रै भन्नुहुन्छ । मैले सभामुख यहाँ आउनु नै भएको छैन, कसरी आउनु भएको थियो भनेर भन्नु भनें । मैले कसरी तपाईलाई बिश्वास गरेर नआएको मान्छेलाई आको भनौं भने । उहाँले तपाईले कुरा लुकाउनु भयो, भाको चाँहि रैछ भने । मैले जवर्जस्ती सभामुख आउनु भाको छ भनेर कसरी भनौं ? नभएको झुट कुरा कसरी गरौं भनें । अनि अर्काको ब्यक्तिगत नीजि मामिलामा किन यत्ति धेरै चासो राख्नु हुन्छ ? अरु समाचार छैनन भने । भाको यत्ति हो तर समाचार अरुअरु नै आएछ ।

सभामुखले काम नगर्दा रिस उठ्यो

समायोजनको कुरा भाको थियो, अलिक डिप्रेशन पनि छु म । औषधी खाइरहेको छु । समायोजन मिलाइ दिनुहोला भनेको थिए, हुन्छ भन्नुभयो, तर भएन । नगरेपछि मलाइ पनि रिस उठ्यो । आश गर्ने त अभिभावकसँग राख्ने न हो । मैले समायोजनबारे कुरा गरेको थिए । झगडा पनि भयो । भन्न नभन्ने कुरा पनि उहाँलाइ भने । साना तिना कुरा पनि नगरेपछि रिस उठ्यो ।