जनता टाइम्स

१५ जेष्ठ २०८१, मंगलवार ०८:५३

गणतन्त्र दिवसमा केपी ओलीको शुभकामना : अधिकार पाएका छौं, सँगसँगै कर्तव्य पनि नभुलौं


काठमाडौं, जेठ १५ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अधिकार सँगसँगै कर्तव्य भुल्न नहुने तथ्य औंल्याउनु भएको छ ।

१७औं गणतन्त्र दिवसको अवसरमा आज शुभकामना दिँदै पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले अधिकार आजकै दिन प्राप्त भएको भन्दै सवैलाई कर्तब्य पालनामा जोड दिनुभएको हो ।

‘गलतको ठाउँमा सही चुन्ने विकल्प नै गणतन्त्रमा हुन्छ । जनताले चुन्ने अधिकार नै गलत हो भन्ने यदाकदा सुनिने भाष्य आफैं गलत छ । हामीले अधिकार पाएका छौं, सँगसँगै कर्तव्य पनि नभुलौं,’ अध्यक्ष ओलीको सन्देशमा भन्नुभएको छ ।

उहाँले गणतन्त्रमा मात्र आफूले चुनेका प्रतिनिधिले गल्ती गरे उनीहरूलाई चुनावबाट फेर्न यही व्यवस्थामा मात्र पाइने प्रष्ट मान्यतासमेत राख्नुभएको छ । ‘कहिलेकाहीं हामी गलतलाई चुन्न सक्छौं, तर गलत चुनियो भन्दैमा चुन्ने अधिकार गलत हुन सक्दैन । गलतको ठाउँमा सही चुन्ने विकल्प नै गणतन्त्रमा हुन्छ,’ अध्यक्ष ओलीको सन्देशमा भनिएको छ ।

सन्देश जस्ताको तस्तै

आज गणतन्त्र दिवस । एक वंशको विशेषाधिकार अन्त्य गरी नेपाली जनता आफैंले चुनेका प्रतिनिधिबाट शासकीय व्यवस्था तय गरेको दिन । गणतन्त्र दिवसको सबैलाई शुभकामना !

आफूले चुनेका प्रतिनिधिले गल्ती गरे उनीहरूलाई चुनावबाट फेर्न यही व्यवस्थामा मात्र पाइन्छ । कहिलेकाहीं हामी गलतलाई चुन्न सक्छौं, तर गलत चुनियो भन्दैमा चुन्ने अधिकार गलत हुन सक्दैन । गलतको ठाउँमा सही चुन्ने विकल्प नै गणतन्त्रमा हुन्छ । जनताले चुन्ने अधिकार नै गलत हो भन्ने यदाकदा सुनिने भाष्य आफैं गलत छ । हामीले अधिकार पाएका छौं, सँगसँगै कर्तव्य पनि नभुलौं ।

सबैलाई शुभकामना !
जय गणतन्त्र !!
जय जय जय नेपाल !!!