जनता टाइम्स

१८ जेष्ठ २०८१, शुक्रबार १३:५१

बालेनको प्रश्न – न्युरोडमा पार्किङको ठाउँमा फुटपाथ बनाउँदा सडक कसरी साँघुरो हुन्छ ?


काठमाडौं, १८ जेठ । काठमाडौं महानगरका मेयर बालेन शाहले न्युरोडलाई अझै व्यवसायीक, सुन्दर बनाउँन एकजुट बन्न अपिल गर्नुभएको छ । सामाजिक सञ्जालमार्फत बालेनले न्युरोडमा महानगरले फुटपाथ बनाउन लागेको विषयमा सडक विभाग र स्थानीयले विरोध गरेपछि न्युरोडलाई व्यवस्थित बनाउन फुटपाथ बढाउन लागेको स्पष्ट गर्नुभएको छ । उहाँले यसअघि सडकमा पार्किङ गर्दा सडक साघुरो नहुने अहिले सोहि ठाउमा फुटपाथ बनाउदा कसरी सडक साँघुरो हुन्छ भन्दै प्रश्न गर्नुभएको छ ।

उहाँले भन्नुभएको छ,

एउटा रोचक कुरा कुरा पढ्नु हुन्छ ? न्युरोडमा जसले सडकमा पार्किङ गर्न पाउनु पर्छ भनेर आन्दोलन गरेका थिए, तिनैले अहिले ३ फिट फुटपाथ बढाउँदा बिरोध गरिरहेका छन् । सोच्नु त, सडकमा ३ फिट भन्दा बढि ढाकेर पार्किङ गर्दा सडक सानो भएर न्युरोडको सडकमा गाडी कुद्न साँघुरो नहुने तर त्यहि पार्किङले ओगट्ने ठाउँ खाली गराएर फुटपाथ बनाउँदा सडकमा गाडी कुद्नै साँघुरो हुने कसरी हुन्छ ?

त्यस्तै, सडक विभागले बनाएको मापदण्ड अनुसार दैनिक एक लाख र बजारको सिजनमा ५ लाख हिड्ने सडकमा फुटपाथ कत्रो चाहिन्छ भन्ने मापदण्ड हेर्नुहोला । त्यो मापदण्ड पालना गर्नलाई बनाइएको हो कि होइन भन्ने सोध्नुहोला ।

प्रतिशोध लिने भए विकास रोक्नेहरूसँग लिउँ, कागजमा वैज्ञानिक कुरा लेखेर व्यवहारमा कमिसन बढाउन खोज्नेहरूसँग लिउँ, फुटपाथ बढाउन रोकियो भने अहिले यो गइहाल्छ, पछि फेरि पार्किङबाट कमाउन पाइन्छ भन्ने सोचेर न्युरोडलाई लथालिङ र अव्यवस्थित बनाउनेहरूसँग लिउँ । विकास गर्ने हो भने र बदलिदो समयमा न्युरोडलाई अझै व्यवसायीक, सुन्दर बनाउँन एकजुट बनौँ ।