जनता टाइम्स

२० जेष्ठ २०८१, आईतवार १५:१४

राष्ट्रिय प्राथमिकतालाई तिलाञ्जली दिइयो : पूर्व अर्थमन्त्री महत


काठमाडौं, २० जेठ । नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्वअर्थमन्त्री डा.प्रकाशशरण महतले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटले राष्ट्रिय प्राथमिकतालाई तिलाञ्जली दिएको बताउनुभएको छ । आज प्रतिनिधि सभामा आगामी आर्थिक वर्षको बजेटमाथिको प्रारम्भिक छलफलमा भाग लिँदै उहाँले आवश्यकको आधारमा बजेट विनियोजन नगरेर सरकारले आफू खुशी अघि बढ्ने बाटो लिएको समेत बताउनुभयो । उहाँले देशभर पानीको अभाव भइरहेका बेला सरकारले खानेपानीको क्षेत्रमा बजेट कटौती गर्ने काम गरेको भन्दै आपत्ति जनाउनुभयो ।

उहाँले भन्नुभयो,‘सरकारले बजेट ल्याउँदा प्राथमिकतालाई तिलाञ्जली दियो । यहाँ खानेपानीको अत्यन्त समस्या छ । तराईदेखि पहाडसम्म नै समस्या छ । पानीका स्रोतहरू सुकेका छन् । अब खानेपानीमा पहिला २८ अर्ब थियो, अहिले २६ अर्ब बजेट राखिएको छ । सम्पूर्ण रकम अर्थ मन्त्रालय, शहरी मन्त्रालयमा र केही चाहिँ भौतिक मन्त्रालयमा केन्द्रित गरिदिनुभयो । कानून मन्त्रालयमा ७७ करोडबाट ५४ करोडमा झारिदिनुभयो । यसरी विनियोजन गरिएको छ । जुन ठिक छैन । सभामुख महोदय, म के निवेदन गर्न चाहन्छु भने यो बजेटले धेरै कुरा नबोलीकन आफ्नो हिसाबले खर्च गर्ने बाटो लियो । त्यो बेठिक भइराखेको छ । यो बजेटले ठिक बाटो पक्रन सकेन ।’

अर्थ मन्त्रालय, सहरी विकास मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बजेट थुपारेर सरकारले गलत बाटो लिएको उहाँले आरोप लगाउनुभयो । प्रवक्ता महतले सत्तारुढ गठबन्धनमुखी बजेट ल्याउने काम गरिएको भन्दै आन्तरिक ऋणको भरमा बजेटको आकार बढाउने काम गरेकोमा असन्तुष्टि व्यक्त गर्नुभयो ।