काठमाडौं, २४ जेठ । प्रतिनिधि सभा बैठकले सुरक्षण मुद्रणसम्बन्धी विधेयक, २०८१ पारित गरेको छ । आज बसेको प्रतिनिधि सभाको बैठकले सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रस्तुत गर्नुभएको सुरक्षण मुद्रणसम्बन्धी विधेयक, २०८१ लाई पारित गरियोस् भन्ने प्रस्तावलाई बहुमतले पारित गरेको हो । विधेयकको छलफलको क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री शर्माले नेपालभित्रै सुरक्षण मुद्रणको काम गर्न भने समय लाग्ने बताउनुभयो ।
उहाँले खरिद नियमावलीको व्यवस्था र सरकारी प्रावधान सबै पालना गर्नुपर्ने भएकाले यही मितिदेखि काम सुरु हुन्छ भनेर तोक्न नसकिने बताउनुभयो । कैयौँ मेसिन छपाइ गर्नसक्ने स्थितिमा रहे पनि अन्य मेसिन पनि ल्याउनुपर्ने उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो,‘विधेयक पारित भइसके पछाडि यसको संरचना बन्ने, समिति बन्ने र कामको प्रक्रिया सुरु गर्छ । प्राविधिक कुराहरु पनि छन् । सार्वजनिक खरिद ऐनको पालना गर्नुपर्छ । कैयौँ सामग्री खरिद गर्नुपर्नेछ । कैयौँ सामग्री विद्यमान अवस्थामा पनि छपाइ गर्नसक्ने स्थितिमा छौं । अहिले छपाइ गर्ने स्थितिमा रहेका मेसिनलाई प्रयोग गरेर छपाइ गर्ने । बैंक नोट लगायतका कुरालाई चाहिँ व्यवस्थित गरेर अगाडि बढाउने कुरा छ ।’
उहाँले भन्नुभयो,‘कार्य प्रारम्भ ३१ औँ दिनदेखि हुने नै छ । तर कुन दिनदेखि छपाई गर्छौं भन्न चाहिँ सकिने स्थिति छैन । किनभने खरिद नियमावलीको व्यवस्था, सरकारी प्रावधान सबै पालना गर्दाखेरी ठ्याक्कै तिथि, मिति तोक्न सकिँदैन तर छिटोभन्दा छिटो स्वदेशमै सुरक्षण मुद्रणसम्बन्धी सामानको छपाइ गर्ने उद्देश्य अनुरुप यो ल्याइएको छ ।’ प्रतिनिधिसभाको अर्को बैठक जेठ २७ गते आइतबार बिहान ११ बजे बस्नेगरी बोलाइएको छ ।
प्रतिक्रिया दिनुहोस्