जनता टाइम्स

१५ आश्विन २०७६, बुधबार १३:४५

महरामाथि बलात्कार आरोप प्रकरण : यसकारण देखिएन २४ घण्टामै फेरिएको पीडितको बयानमा दम


काठमाडौं, असोज १४ । गत सोमबार साँझ जब सभामुख कृष्णबहादुर महराले संसद सचिवालयमै कार्यरत महिला कर्मचारीमाथि बलात्कार गरेको आरोपसहितको समाचार एक अनलाइनमा सार्वजनिक भयो, त्यसले सिंगो मुलुकलाई तरंगित तुल्यायो । नेकपाका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डदेखि नेकपाका बरिष्ठ नेताहरु एकाएक तनावमा पर्नुभयो । समाचार सोसल मिडियामा मात्र भाइरल भएन, मूलधारको मिडियाका लागि पनि ‘हट केक’ बन्यो त्यो समाचार ।

लामो समयदेखि महरासँग निकट सम्बन्ध रहेको बताउने शोशनी शाहीले आफ्नै कोठामा आएर महराले आइतवार राती बलात्कार गरेको बयान दिई सो आरोप लगाएपछि सवैतिर गरम मशाला बन्नुस्वभाविक थियो । उनले बलात्कारपछि महराले आफूलाई कुटपीट गरेको समेत बताएकी थिइन । नेकपाले सचिवालय बैठक राखेर महरालाई सभामुख र सांसद दुवै पदबाट राजीनामा दिन निर्देशन दियो । महराले पार्टी निर्णयअनुसारको भाषा प्रयोग नगरे पनि उपसभामुखलाई राजीनामा दिए । नेकपाले उहाँ साँसद नरहेको समेत बताइसक्यो । यद्यपी सांसद पदबाट महराले राजीनामा दिनुभएको छैन । तर २४ घण्टा नबित्दै शाही फेरि अर्काे अनलाइनमा भिडियो अन्तरवार्तासहित उदाएर ठीक उल्टो बयान दिइन ।

संसद सचिवालयमा कार्यरत शाहीले हाम्राकुरा अनलाइनका सम्पादक अजयबाबु शिवाकोटीसँगको भिडियो अन्तर्वार्तामा महराले लामो समयदेखि आफूमाथि दुब्र्यवहार गर्दै आएको र आइतवार चाँहि बलात्कार नै गरेको बयान दिएकी थिइन । तर २४ घण्टा नबित्दै उनले बयान फेरेकी हुन । मंगलवार शाहीले अर्काे अनलाइन नागरिक खवरलाई दिएको बयानअनुसार महरा उनको घरमा पुगेकै थिएनन । रिसको झोंकमा उनले महरालाई बलात्कार गरेको आरोपलगाएकी थिइन । बाबुसमानको मान्छे महराले आफूलाई त्यसो गर्नै नसक्ने भन्दै नियतबस फसाइएको दाबी उनको थियो ।

अनलाइनसँगको बयानअघि उनले स्वास्थ्य परीक्षण गर्न र प्रहरीमा उजुरी दिनसमेत अस्वीकार गरेकी थिइन । राष्ट्रलाई तरंगित बनाएको यो घटनामा पीडित भनिएकी महिलाले २४ घण्टा नबित्दै बयान फेरेपछि दुई दिनदेखि अधिकांशको मथिंगल हल्लाएको घटनामा नयाँ ट्विस्ट आएको छ । तर उनको दोस्रो बयानलाई कसैले पत्याइरहेका छैनन । बलात्कार आरोप लागेका सभामुख कृष्णबहादुर महराले पदबाट राजीनामा दिइसकेका छन । तर पीडित भनिएकी महिलाले महरा निर्दोष रहेको बताएपछि सवै चकित परेका हुन । पछिल्लोपटक एक अनलाइनलाई दिएको अन्तर्वार्तामा पीडित भनिएकी महिलाले महरा आफ्नो घरमा आउँदै नआएको बताएर सबैलाई चकित बनाएकी हुन ।

हाम्राकुराको १० मिनेट लामो भिडियोमा यी महिलाको अनुहार र परिचय लुकाउन खोजिएको थियो । पीडित महिलाले आफ्नो अनुहार नदेखाउन भिडियोमा अनुरोध नै गरेकी छन र त्यहीअनुसार उनको अनुहारमा ‘ब्लर’ गरिएको छ । तर नागरिकखबरको १६ मिनेट लामो भिडियोमा भने शाही परिचयसहित उपस्थित भएकी छन । बरु अन्तर्वार्ताकारले सोधेका छन, तपाईंसँगको यो कुराकानी प्रशारण गर्दा हुन्छ ? रोशनी नाम भएकी ती महिलाले एकछिन सोचेर जवाफ दिएकी छन–हुन्छ । जहाँ अघिल्लो दिनको अधिकांश अभिब्यक्ति काटेकी छन । उनले उल्टै अन्तरवार्ता लिने पत्रकारलाई पो गाली गर्न थालेकी छन ।

अघिल्लो दिन प्रहरीलाई फोन गरेर घटनाबारे बताएपछि महरा आफ्नो कोठाबाट निस्केको बताउने उनी पछिल्लो भिडियोमा महरा आफ्नो कोठामा आउँदै नआएको र महरासँग लामो समयदेखि आफ्नो भेट पनि नभएको बताएकी छन । पीडित महिला आफै महराको बचाउमा उत्रिए पनि आम पाठक र दर्शनले उनको कुरा पत्याउन सकेका छैनन । महरासँगको भाइवर म्यासेजदेखि सवै कुरा पत्रकारलाई दिएर पठाएकी शाहीले म्यासेजमा दिएको जवाफसमेत अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । उनले भनेकी छन, ‘तँ न माफीको लायक भइन, न मायाको लायक ।’ यो कुरा बाहिरिएपछि शाहीको दोस्रो बयानमा कसैले बिश्वास नगरेका हुन ।