जनता टाइम्स

२७ जेष्ठ २०८१, आईतवार ०८:११

युवा संघले गर्यो पदाधिकारी-केन्द्रीय सदस्य थप्नेदेखि प्रदेश इञ्चार्ज र बिभागको नेतृत्व हेरफेरसम्मका निर्णय


काठमाडौं, जेठ २७ । नेकपा एमाले निकट संगठन राष्ट्रिय युवा संघ नेपालले पदाधिकारी हेरफेरदेखि प्रदेश इञ्चार्ज र बिभागको नेतृत्व परिवर्तन गरेको छ ।

भर्खरै सम्पन्न बैठकले केन्द्रीय पदाधिकारीमा तीन जना नेता थप्नुको साथै मनोनीति र बिदासम्मको निर्णय गरेको महासचिव सुमन पुरीले बताउनु भयो । महासचिव पुरीले हालै सम्पन्न युवा संघ बैठकले पदाधिकारी र केन्द्रीय सदस्य थप गर्दै उमेर ४० कटेका र दोहोरो जिम्मेवारीमा रहेका नेताहरूलाई संगठनबाट बिदा गरेको बताउनु भयो ।

युवा संघको केन्द्रीय कमिटीको तेस्रो बैठक जेठ १९ र २० गते काठमाडौंमा सम्पन्न भएको थियो । उहाँका अनुसार बैठकले प्रवक्ता निरोज पौडेल, महेश चौलागाई र सारदा पछाई केन्द्रीय कमिटी सचिवमा मनोनीत भएका छन् ।  यसैगरी सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटी सदस्यमा नयाँ सदस्य थप गरिएको छ । बैठकले प्रदेश, जिल्ला र पालिका अधिवेशनको मिति समेत तय गरेको छ ।

युवा संघले बैठकको निर्णय बिशेष सर्कुलरमार्फत कार्यान्वयनका लागि निर्देशन दिएको छ । सर्कुलरमा बैठकले आगामी मिसन ८४ लाई केन्द्रीत भई नेकपा (एमाले)लाई निर्णायक राष्ट्रिय शक्ति बनाउने महत्वपूर्ण लक्ष्य लिएको उल्लेख छ । यस्तै केन्द्रीय कमिटीको यस बैठकले जनजीविका, जनसरोकार, सामाजिक न्याय, सुशासन तथा राष्ट्रियता र मुलुकको सार्वभौम सत्ताको रक्षार्थ आफ्नो स्पष्ट दृष्टिकोण र कार्यदिशा तय गरेको छ ।

संघको लक्ष्य, उद्देश्य र कार्यक्रमहरुलाई युवा समुदायमाझ प्रभावकारी तवरले लागू गर्न विभाग, प्रदेश, जिल्ला एवं पालिका स्तरसम्म प्रभावकारी कार्यसम्पादन गर्न जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको छ । मातहत कमिटीहरु समक्ष बैठकका महत्वपूर्ण निर्णयहरु कार्यन्वयनका निम्ति यो बिशेष सर्कुलर जारी गरिएको छ । विशेष सर्कुलरमा उल्लेखित निर्णयहरूलाई आ–आफ्नो कार्यक्षेत्रमा उत्साहका साथ सिर्जनात्मक र प्रभावकारी ढंगले लागुगर्न गराउनहुन मातहत कमिटीलाई निर्देशन दिएको छ ।