अर्थतन्त्रको बाह्य क्षेत्र सबल बन्दै गएकाले सरकारलाई पूर्वाधार विकासमा खर्च गर्न पर्याप्त अवसर दिए पनि खर्च हुन नसक्दा आन्तरिक अर्थतन्त्रमा सुधार हुन नसकेको तथ्यलाई प्रतिवेदनले प्रष्ट चित्र देखाएको छ
काठमाडौं, जेठ २९ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको तथ्यांकमा आधारित ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ सार्वजनिक गरेको छ ।
राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ४.४० प्रतिशत रहेको छ । यसैगरी आयाततर्फ २.४ प्रतिशत, निर्याततर्फ ३.६ प्रतिशत र कुल वस्तु व्यापार घाटा २.३ प्रतिशतले घटेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।
यस्तै विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा १९.२ प्रतिशतले र अमेरिकी डलरमा १७.१ प्रतिशतले बढेको छ भने शोधनान्तर स्थिति रु.३९२ अर्ब ६४ करोडले बचतमा रहेको छ । यसैगरी कुल विदेशी विनिमय सञ्चिति रु.१९४२ अर्ब ४० करोड र अमेरिकी डलरमा १४ अर्ब ५४ करोड रहेको छ ।
राष्ट्र बैंकका अनुसार यसबाहेक नेपाल सरकारको खर्च रु.१०५६ अर्ब ८९ करोड र राजस्व परिचालन रु.८३१ अर्ब ९३ करोड रहेको छ भने विस्तृत मुद्राप्रदाय ८.१ प्रतिशतले बढन गई वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १२.४ प्रतिशतले बढेको तथ्यांकमा उल्लेख छ ।
यस्तै बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ७.८ प्रतिशतले बढेको भने निजी क्षेत्रमा प्रवाहित कर्जा ४.७ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १२.८ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ५.२ प्रतिशत रहेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको बिवरणअनुसार मुलुकको विदेशी मुद्रा (विनिमय) सञ्चितिले गत वैशाखमा पनि कीर्तिमानी बनाएको छ ।
पछिल्ला हरेक महिना नयाँ उचाइमा पुग्दै आएको विदेशी मुद्रा सञ्चिति गत वैशाखसम्म १९ खर्ब ४२ अर्ब ४० करोड रुपैयाँ पुगेपछि फेरि नयाँ कीर्तिमान बनेको हो । राष्ट्र बैंकले सार्वजनिक गरेको गत वैशाखको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनले विदेशी विनिमयमा हरेक महिना नयाँ कीर्तिमान बन्नुको मुख्य कारण रेमिट्यान्स आप्रवाहमा हुँदै आएको निरन्तर वृद्धि नै रहेको देखाएको छ ।
नेपालबाहेक अरु देशका मुद्रा नेपालका लागि विदेशी मुद्रा हुन् । यसलाई विदेशी विनिमय पनि भनिन्छ । निर्यात, पर्यटन, रेमिट्यान्स, वैदेशिक सहायता र अनुदान, वैदेशिक ऋण विदेशी प्राप्त गर्ने मुख्य स्रोत हुन । पछिल्ला महिनामा पर्यटनमा सामान्य सुधारको संकेत देखिए पनि निर्यात र विदेशी सहयोग तथा अनुदानको अवस्था निकै नाजुक छ ।
तर पछिल्लो डेढ वर्षयता हरेक महिना एक अर्बभन्दा बढीले रेमिट्यान्स नेपाल भित्रिँदै आएको छ । मासिक रूपमा हेर्दा चालु आर्थिक वर्षका १० महिनामध्ये गत असोजमा सबैभन्दा धेरै १ खर्ब ३७ अर्ब रुपैयाँ र गत माघमा सबैभन्दा कम १ खर्ब ५ अर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ । सोहीअनुसार गत वैशाखमा १ खर्ब १६ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।
अघिल्लो महिना (गत चैत) को तुलनामा वैशाखमा रेमिट्यान्समा कमी आए पनि गत वर्षको १० महिनाको तुलनामा यस वर्ष रेमिट्यान्स २३.४ प्रतिशतले बढेको हो । यसरी रेमिट्यान्स आप्रवाह निरन्तर बढिरहेको र पर्यटनलगायत क्षेत्रमा आएको सुधारले त्यसमा केही भरथेग गरेकाले विदेशी मुद्रा सञ्चितिले हरेक महिना नयाँ कीर्तिमान बनाउँदै आएको हो ।
राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको १० महिनामा ११ खर्ब ९८ अर्ब ६० करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । गत वर्षको तुलनामा यो १९.२ प्रतिशतको वृद्धि हो । अमेरिकी डलरमा रेमिट्यान्स १७.१ प्रतिशतले बढेर ९ अर्ब २ करोड पुगेको छ ।
राष्ट्र बैंकका अनुसार गत वैशाखसम्म अमेरिकी डलरमा विदेशी मुद्रा सञ्चिति १४ अर्ब ५४ करोड पुगेको छ । गत असारको तुलनामा यो २४.२ प्रतिशतले बढेको हो । ०८० असार मसान्तमा यस्तो सञ्चिति ११ अर्ब ७१ करोड डलर थियो ।
चालु आर्थिक वर्षको १० महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १५.१ महिनाको वस्तु आयात र १२.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ । ०८१ वैशाख मसान्तमा मुलुकमा रहेको विदेशी विनिमय सञ्चिति कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को अनुपातमा ३४ प्रतिशत हो । चालु आर्थिक वर्षमा राष्ट्र बैंकले कम्तीमा ७ महिनाको आयात धान्न पुग्ने विदेशी मुद्रा सञ्चिति कायम गर्ने लक्ष्य तय गरेको थियो ।
प्रतिवेदनका अनुसार रेमिट्यान्स निरन्तर बढिरहँदा शोधनान्तर स्थिति र चालु खाता निरन्तर बचतमा छन, ब्याजदर घटिरहेको छ । तर सरकारी वित्ततिर हेर्दा अपेक्षित रूपमा पुँजीगत खर्च बढ्न सकेको छैन, राजस्व संकलनको अवस्था नाजुक छ । राजस्व संकलनले बल्लतल्ल चालु खर्च मात्र धान्न सकेको छ । अर्थतन्त्रको बाह्य क्षेत्र सबल बन्दै गएकाले सरकारलाई पूर्वाधार विकासमा खर्च गर्न पर्याप्त अवसर दिए पनि खर्च हुन नसक्दा आन्तरिक अर्थतन्त्रमा सुधार हुन नसकेको जानकारहरुको भनाई छ ।
राष्ट्र बैंकका अनुसार गत वैशाखसम्म मुलुकको चालु खाता १ खर्ब ९३ अर्ब २५ करोडले बचतमा छ । गत वर्षको सोही अवधिमा चालु खाता ६३ अर्ब ७४ करोडले घाटामा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ४९ करोड ३६ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब ४५ करोडले बचतमा रहेको प्रतिवेदनले देखाएको छ । विदेशी मुद्रा सञ्चिति दबाबमा रहेको भन्दै गत वर्ष सरकारले १० वटा वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो ।
राष्ट्र बैंकले पनि प्रतीतपत्रमा नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेको थियो । यसकारण गत वर्ष निर्यात घटेको थियो । हाल ती सबै व्यवस्था हटेका छन । तर पनि आयात र निर्यातमा गत वर्षको भन्दा कमी आइरहेको छ । यसरी आयात र निर्यात निरन्तर घटिरहेकाले विदेशी विनिमय सञ्चिति थुप्रिनुलाई बाह्य क्षेत्र सुधार भयो भनेर भन्न नमिल्ने अर्थविदहरुको मत छ । मूल्यवृद्धि घट्दो दरमा रहेको, ब्याजदर घटिरहँदा पनि कर्जा प्रवाह बढ्न नसक्नु अर्थतन्त्र मन्दीमा रहेको संकेत भएको उनीहरूको भनाइ छ ।
गत वैशाखसम्म शोधनान्तर स्थिति ३ खर्ब ९२ अर्ब ६४ करोडले बचतमा छ । गत वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २ खर्ब ९ अर्ब ४९ करोडले बचतमा थियो । ‘अमेरिकी डलरमा गत वर्षको वैशाखमा १ अर्ब ५९ करोडले बचतमा रहेको शोधनान्तर स्थिति यस वर्षको सोही अवधिमा २ अर्ब ९५ करोडले बचतमा छ,’ प्रतिवेदनमा भनिएको छ ।
वैशाखमा वार्षिक बिन्दुगत उपभोक्ता मूल्यवृद्धिदर (मुद्रास्फीति) ४.४० प्रतिशत कायम रहेको छ ।
गत वर्षको वैशाख महिनामा यस्तो मूल्य वृद्धिदर ७.४१ प्रतिशत थियो । गत पुस यता हरेक महिना औसत मूल्य वृद्धिदर घटिरहेको छ । गत वैशाखमा खाद्य तथा पेय पदार्थ समूहको मूल्य वृद्धिदर ६.२७ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मूल्य वृद्धिदर २.९६ प्रतिशत छ ।
समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत तरकारी उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक २३.११, दाल तथा गेडागुडीको १०.८५, मरमसलाको ८.९८, खाद्य तथा खाद्यजन्य पदार्थको ७.४२ र चिनी तथा चिनीजन्य वस्तुहरूको ७.२५ ले बढेको छ । तर घिउ तथा तेल उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक ७.१३ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ ।
समीक्षा महिनामा गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवाहरू उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक १२.२६, शिक्षाको ५.६४ र कपडाजन्य तथा जुत्ता चप्पलको ३.४६ प्रतिशतले बढेको छ । सोही अवधिमा सञ्चार उप-समूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक ०.४८ प्रतिशतले घटेको राष्ट्र बैंकको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्