जनता टाइम्स

२९ जेष्ठ २०८१, मंगलवार १९:०९

मुख्यमन्त्री कार्यालयमा कार्यरत अधिकृतविरुद्ध नक्कली प्रमाण पत्रको आरोपमा मुद्धा दायर


काठमाडौं, २९ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलालीमा कार्यरत शाखा अधिकृत लक्ष्मण शाहविरुद्ध नक्कली शैक्षिक प्रमाण पत्रको आरोपमा मुद्धा दायर गरेको छ ।

अख्तियारले शाहले माध्यमिक शिक्षा परिषद्‍, उत्तर प्रदेश (बोर्ड अफ हाइस्कूल एण्ड इण्टरमिडियट एजुकेशन, यु.पी.) अन्तर्गत इन्टरमिडियट तहको परीक्षा उत्तीर्ण गरेको भनी झुट्टा शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी निजामती सेवाको कम्प्युटर अपरेटर पदमा सुरु प्रवेश गरी बढुवा भई हाल शाखा अधिकृतमा बहाल रहेको भन्दै भ्रष्टाचार निवारण ऐन अनुसार मुद्धा दायर गरेको जानकारी दिएको छ ।

अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप(पत्र दायर गरिएको जनाएको छ ।