जनता टाइम्स

३१ जेष्ठ २०८१, बिहीबार १३:२२

ज्येष्ठ नागरिकको राष्ट्रिय परिचय पत्रको बायोमेट्रिक घरमै गर्ने व्यवस्था मिलाउन माग


काठमाडौं, ३१ जेठ । नेकपा एमाले सांसद ऋषिकेश पोखरेलले ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई सरकारले दुख दिएको आरोप लगाउदै घरमै बायोमेट्रिक गर्ने व्यवस्था मिलाउन माग गर्नुभएको छ । आज प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद पोखरेलले सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचय पत्र अनिवार्य गरिएपछि ज्येष्ठ नागरिकहरूले बायोमेट्रिक गर्न सास्ती खोप्नु परेको भन्दै दुख नदिन सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।

उहाँले टोली घर–घरमै खटाउने व्यवस्था मिलाएर अर्को वर्षदेखि नयाँ नियम लागू हुनेगरी व्यवस्था गर्न समेत माग गर्नुभएको छ । उहाँले भन्नुभयो,‘राष्ट्रिय परिचयपत्र अथवा पञ्जीकरण विभागले आगामी वर्षका लागि सामाजिक सुरक्षाको भत्ताका लागि नवीकरणका सर्कुलर पठाएको छ । त्यसमा दुईवटा नयाँ शर्तहरू थपेको छ । राष्ट्रिय परिचयपत्र नम्बर र साउनमा बायोमेट्रिक दुवै गरिनुपर्छ भनेको छ । आज देशभरका वडा कार्यालयहरू, इलाका प्रशासन कार्यालयहरू, जिल्ला प्रशासन कार्यालयहरुमा अपांगता, बिरामी ८०, ९० र १०० वर्षका ज्येष्ठ नागरिकहरूका सन्तानले विभिन्न विधि अपनाएर यी तीनै कार्यालयमा जेष्ठ नागरिकलाई पुर्याइरहेका छन् । त्यहाँ ठूलो चाँप छ ।’

उहाँले अगाडि भन्नुभयो,‘राष्ट्रिय परिचय पत्रको फोटो खिच्ने क्रममा कहि अनलाइन भयो । कही अफलाइन भयो । अफलाइन भएको ठाउँमा रेकर्डेड छैन । फेरि नम्बर खोजेर वडा कार्यालयमा कायम गर्नुपर्छ । फेरि त्यसलाई प्रमाणित गर्न जिल्ला प्रशासन कार्यालय वा सीडीयो कार्यालयमा जानुपर्छ । यो परिस्थितिले अपांग,ज्येष्ठ नागरिक र बिरामीहरूको अवस्था दयनीय भएको छ । यसकारण म सभामुखमार्फत नेपाल सरकारसँग आग्रह गर्न चाहन्छु । परिचय पत्र नम्बर राख्नु राम्रो कुरा छ । तर, त्यस्तो पूर्व तयारीबेगर आज जुन सामाजिक आतंक सृजना भएको छ । अपांगता, बिरामी, ज्येष्ठ नागरिकहरूले दुःख पाइरहेका छन् ।’

नेता पोखरेले हरेक घर–घरमा टोली पठाएर ज्येष्ठ नागरिकहरूलाई राष्ट्रिय परिचय पत्र उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो,‘परिचयपत्रको व्यवस्थापन गरेर, घरमा बायोमेट्रिक गराएर, अर्को वर्षदेखि लागू हुनेगरी यो वर्ष यी प्रक्रियालाई रोक्न सरकारको गम्भीर ध्यानाकर्ष गराउन चाहन्छु ।’