जनता टाइम्स

३१ जेष्ठ २०८१, बिहीबार १३:४१

प्राकृतिक विपदको पुर्व तयारी सन्तोषजनक भएन – योगेश भट्टराई


काठमाडौं, ३१ जेठ । नेकपा एमालेका सचिव योगेश भट्टराईले सरकारले प्राकृतिक प्रकोपको राहत तथा उद्धारमा बजेक कम छुट्ट्याएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ । आज प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर भट्टराईले जलवायु परिवर्तनका कारण मौसमजन्य विपदले असर गरिएको बताउदै यसको राहत र उद्धारमा सरकारले पर्याप्त बजेट व्यवस्था नगरेको बताउनुभयो ।

उहाँले भन्नुभयो,‘सरकारको पुर्व तयारी सन्तोषजनक छैन । विपद प्राधिकरणलाई बार्षिक १८ करोड बजेट दिइएको छ र तलब भत्ता पारिश्रमिकमा १५ करोड खर्च हुन्छ भने ३ करोडमा प्राधिकरणले के गर्न सक्छ ?’

नेपाली सेना, नेपाल प्रहरी सशत्र प्रहरीले प्रतिकुल अवस्थाका बीच पनि उद्धारको काम गरिरहेको बताउनुभयो । उहाँले देश भर नै विपदको पुर्व तयारी जसरी हुनुपर्ने थियो त्यसरी हुन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ । उहाँले विपदपछिको राहत र उद्धारका सुरक्षा निकायलाई साधन र स्रोत सम्पन्न बनाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।