रुपन्देही, जेठ ३२ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले विकास र राजनीतिलाई सँगसँगै लैजानुपर्ने आवश्यकता औंल्याउनु भएको छ ।
आज आयोजित एमाले रुपन्देहीको १० औं अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुको शपथग्रहण तथा पदस्थापन कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले यस्तो बताउनु भएको हो । उहाँले एमालेका सबै नेता कार्यकर्ताहरु विकाससँग जोडिदै जानुपर्ने बताउनु भयो ।
‘एमालेका सबै नेता-कार्यकर्ता अब विकास र उत्पादनसँग जोडिदै जानुपर्छ,’ पूर्वउपप्रधान तथा अर्थमन्त्रीसमेत रहनुभएका एमाले उपाध्यक्ष पौडेलले भन्नुभयो, ‘अब विकास र राजनीतिलाई जोडेर लैजानुपर्दछ, जनताको जीवनसँग जोडिएर राजनीतिलाई अगाडि बढाऔं, विकास र समृद्धिलाई जोडेर मात्रै अबको राजनीति संभव छ भनेर बुझौं, एमालेले यसमा नायकको भूमिका देखाउनुपर्छ, जहाँ समस्या त्यहाँ एमाले भनेर जनतालाई अनुभूत गराउनुपर्छ ।’
उपाध्यक्ष पौडेलले नवनिर्वाचित कार्यसमितिलाई एकताबद्ध भएर काम गर्न पनि निर्देशन दिनुभयो । अधिवेशनले पार्टीको जीवनमा नयाँ जोश सञ्चार गरेको भन्दै उहाँले नवनिर्वाचित नेतृत्वले त्यो जोशलाई ब्यवहारमा रुपान्त्रण गरी काममा गति प्रदान गर्नुपर्ने गर्नुपर्ने बताउनु भयो ।
‘पार्टीमा अन्तरविरोध र अलमल हुनेछैन । अब अग्रगति र प्रगति हुनेछ, रुपन्देहीमा एमालेको कोहीसँग प्रतिस्पर्धा हुँदैन तर त्यो भनेर योजनाबिहीन तरिकाले समय बिताउनु हुँदैन,’ उपाध्यक्ष पौडेलले भन्नुभयो । उहाँले गुण र दोष दुबै थाहा पाएका आफ्नै एमाले नेता कार्यकर्ताले एकआपसमा दोषारोपण गरेर होइन, हरेकले गुणलाई आत्ससात गरेर कमिटीलाई चलायमान बनाउन कार्यकर्तालाई सुझाव दिनुभयो ।
‘रुपन्देहीको पार्टी पंक्तिलाई प्रभावकारी परिचालन गर्ने, विकास निर्माणका काममा निगरानी र खबरदारी गर्ने, फराकिला सम्भावनालाई साकार पार्ने, आन्तरिक एकतालाई बलियो बनाउने, संगठनलाई सुदृढ, गतिशील र अनुशासित बनाउने, चेतना र चिन्ताका हिसाबले अग्रणी बनाउने, गुणस्तरीय संगठन, नेता कार्यकर्ता रहेको पार्टी बनाउने जिम्मेवारी नयाँ कार्यसमितिको काधमा आएको छ,’ पौडेलले भन्नुभयो ।
कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य लिला गिरीले पनि नेकपा एमालेका नेता-कार्यकर्ता उत्पादनसँग जोडिनुपर्ने सुझाव दिनुभयो । पोलिटब्यूरो सदस्य दधिराम न्यौपानेले पार्टीलाई जीवन्त बनाउन हरेक कमिटी चलायमान बनाउनुपर्ने र त्यो जिम्मेवारी जिल्ला कमिटीले निर्वाह गर्नुपर्ने बताउनु भयो ।
एमाले लुम्बिनीका अध्यक्ष राधाकृष्ण कंडेलले अबको नेतृत्वले थप कुशलतापूर्वक काम गर्नुपर्ने सुझाव राख्दै सबै तहका कमिटीलाई सकृयतापूर्वका जिम्मेवारीमा लगाउन सुझाव दिनुभयो । कार्यक्रममा नवनिर्वाचित अध्यक्ष यज्ञ गैरे, निवर्तमान अध्यक्ष तेजेन्द्र केसीलगायतले पार्टीको जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।
प्रतिक्रिया दिनुहोस्