जनता टाइम्स

१ असार २०८१, शनिबार ०९:५६

दक्षिण अफ्रिकासँग नेपाल १ रनले पराजित, नेपालको सुपर-८ को यात्रा समाप्त


काठमाडौं, असार १ । आईसीसी टी–२० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकासँग नेपाल पराजित भएको छ ।

वेस्ट इन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाल रंगशालामा शनिबार बिहान भएको खेलमा दक्षिण अफ्रिकाले नेपाललाई १ रनले पराजित गरेको हो । टस हारेर दक्षिण अफ्रिकाले नेपाललाई जितका लागि ११६ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा ११४ रन माम बनाउन सक्यो ।

नेपालका लागि आशिफ शेखले सर्वाधिक ४२ रन बनाए । उनले ४९ बलमा १ छक्का र ४ चौका प्रहार गरे । यस्तै अनिल शाहले २४ बलमा २७ रनको योगदान गरे। शाहले १ छक्का र ३ चौका प्रहार गरे। कुशल भुर्तेलले २१ बलमा १ छक्का र १ चौकासहित १३ रन बनाए। त्यसैगरी दीपेन्द्रसिंह ऐरीले ६ रन, कुशल मल्लले १ रनको योगदान गरे भने सोमपाल कामीले ८ रन र गुलशान झाले ६ रन बनाए । यस्तै कप्तान रोहित पौडेल शून्य रनमा आउट भए ।

नेपाललाई जितका लागि अन्तिम ओभरमा ८ रन चाहिएको थियो । पहिलो र दोस्रो बलमा डट पाएको नेपालले तेस्रो बलमा गुल्शन झाले चौका हान्दै जित नजिक पु¥याएका थिए। चौंथो बलमा थप दुई रन जोडेपछि अन्तिम दुई बलमा नेपाललाई दुई रन मात्र आवश्यक थियो। पाँचौ बलमा झालाई ओटनिल बार्टमानले डट राखे ।

अन्तिम बल मिस गरेका गुलशन नन स्ट्राइकमा रन आउट भए । नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा ११४ रनमा बनाउन सक्यो । दक्षिण अफ्रिकाका लागि तबरेज शम्सी सर्वाधिक ४ विकेट,एडेन मार्कराम र अनरिच नोर्जेले १÷१ विकेट लिए । नेपालका कप्तान पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका थिए ।

यस अगाडि दक्षिण अफ्रिकाका लागि रीजा हेन्ड्रिक्स सर्वाधिक ४३ रन बनाए। त्यसैगरी ट्रिस्टन स्टब्स २७ रन, एडेन मार्करामले १५ रन, क्विन्टन डे ककले १० रन, डेभिड मिलरले ७ रन, हेनरिक क्लासेनले ३ रन, मार्को जेन्सेनले १ रनको योगदान गरे। कागिसो रबाडा शून्य रनमा आउट भए ।

नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ४ विकेट र दीपेन्द्रसिंह ऐरीले ३ विकेट लिए । दक्षिण अफ्रिकासामु नेपालका स्पिनरहरुले कसिलो बलिङ गरेका थिए। दक्षिण अफ्रिका भने समूह ‘डि’बाट सुपर आठमा पुगिसकेको छ। यो हारसँगै नेपालको सुपर–८ यात्रा समाप्त भएको छ। पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको नेपालले श्रीलंकासँग बर्षाका कारण खेल्नै पाएन ।