जनता टाइम्स

१ असार २०८१, शनिबार १३:३२

एमालेका १२ जिल्ला कमिटी तोकिएको समयभित्र अधिवेशन गर्न असक्षम, चर्चित नेता इञ्चार्ज रहेकै प्रदेश चुक्यो (सूचीसहित)


काठमाडौं, असार १ । नेकपा एमालेका भौगोलिकतर्फका ११ र गैर भौगोलिकतर्फ एक गरी १२ वटा जिल्ला कमिटी तोकिएको समयभित्र आफ्नो अधिवेशन गर्न असक्षम बनेका छन ।

जेठ मसान्तभित्र अनिवार्य रुपमा जिल्ला अधिवेशन सम्पन्न गर्नुपर्ने केन्द्रीय सचिवालयको निर्णय कार्यान्वयन गर्न १२ वटा जिल्ला कमिटी असक्षम बनेका हुन ।

एमालेका निर्वाचन आयोग अध्यक्ष डा. बिजय सुब्बाले जनताटाइम्स डटकमलाई दिनुभएको जानकारी अनुसार जेठ मसान्तसम्म भौगोलिकतर्फका ६६ जिल्लामा अधिवेशन सम्पन्न भएको छ भने ११ वटा जिल्लामा बाँकी रहेको छ । यस्तै गैर भौगोलिकतर्फ युवा बिद्यार्थी बिशेष जिल्ला कमिटी पनि तोकिएको समयभित्र अधिवेशन गर्न असफल बनेको हो ।

गत बर्षको कात्तिक २२ गते बसेको एमाले केन्द्रीय सचिवालय बैठकले जिल्ला अधिवेशन सम्पन्न गर्ने मिति चार महिना बढाएर २०८१ जेठ मसान्तसम्मको समयसीमा निर्धारण गरेको थियो । तर यस अवधीमा ११ जिल्ला असफल बनेका हुन । एमालेले गत बर्षको फागुन महिनादेखि जिल्ला अधिवेशन सुरु गरेको थियो ।

जेठ मसान्तसम्म अनिवार्य सम्पन्न गर्ने भनिएकोमा ११ जिल्लाले नसकेका हुन । यसरी तोकिएको समयभित्र जिल्ला अधिवेशन गर्न असफल हुनेमा उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्रीसमेत रहनुभएका एमाले सचिव रघुबीर महासेठ इञ्चार्ज रहनुभएको कोशी प्रदेश, योगेश भट्टराई इञ्चार्ज रहनुभएको मधेश प्रदेश, लेखराज भट्टट इञ्चार्ज रहनुभएको कर्णाली प्रदेश, छविलाल बिश्वकर्मा इञ्चार्ज रहनुभएको सुदुरपश्चिम प्रदेश र गोकर्ण बिष्ट इञ्चार्ज रहनुभएको गण्डकी प्रदेश रहेका छन ।

सचिव पदमा अर्याल इञ्चार्ज रहनुभएको लुम्बिनी प्रदेश र स्थायी कमिटी सदस्य गुरु बराल इञ्चार्ज रहनुभएको बागमती प्रदेशमा भने सवै जिल्लामा अधिवेशन सम्पन्न भइसकेका छन । यसरी तोकिएको समयभित्र जिल्ला अधिवेशन गर्न असक्षम हुने जिल्ला कमिटीमा सुदूरपश्चिम प्रदेश र मधेश प्रदेशका धेरै जिल्ला रहेका छन ।

सुदुरपश्चिमका अछाम, डोटी र बझाङले अझै जिल्ला अधिवेशन गर्न नसकेका हुन भने मधेश प्रदेशका सिरहा, सप्तरी र धनुषा रहेका छन । यस्तै जिल्ला अधिवेशन गर्न असक्षम हुनेमा कोशी प्रदेशका इलाम, तेह्रथुम र मोरङ, कर्णाली प्रदेशका डोल्पा, र गण्डकी प्रदेशको मनाङ रहेको छ । जिल्ला कमिटीकै सरह रहेको युवा विद्यार्थी विशेष जिल्ला कमिटीको अधिवेशन पनि हुन सकेको छैन ।

तोकिएको समयमा अधिवेशन गर्न असक्षम जिल्ला कमिटीलाई असारभित्र अनिवार्य सम्पन्न गर्न निर्देशन दिइएको छ । एमालेको एमालेअनुसार ७७ भौगोलिक र ४ विशेष जिल्ला कमिटी गरी ८१ वटा जिल्ला कमिटी रहेका छन ।