जनता टाइम्स

१६ आश्विन २०७६, बिहीबार १७:०२

दशैंका इन्धन अभाव हुन नदिन आयाल निगमले बनायो छुट्टै टिम


काठमाडौं, असाज १६ । नेपाल आयल निगमले दशैंमा कुनै पनि खाले इन्धन अभाव नहुने प्रष्ट पारेको छ । केही दिनदेखि काठमाडौं उपत्यका र देशका मूख्य सहरहरुमा इन्धन खपत बढेपछि निगमले दशैंमा अभाव हुने आशंकामा असुरक्षित भण्डारण गरेको निश्कर्षसहित इन्धन अभाव नहुने जनाएको हो ।

निगमले असुरक्षित भण्डारन नगर्न पनि उपभोक्तालाई सुझाव दिएको छ । निगमका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले निगमले आफ्ना सबै डीपोहरुमा भण्डारण क्षमता अनुसार इन्धन भण्डारण गरेको जनाउँदै दशैंमा बिगतमा जस्तो अभाव नहुने प्रष्ट पार्नुभयो । दशैंमा पनि पाईपलाईनबाट पेट्रोलियम ढुवानी नियमित हुने भएकाले अभाव सिर्जना नहुने उहाँको भनाई छ ।

पौडेलका अनुसार बुधबारदेखि २० हजार किलोलिटर तेल पाईपलाईनबाट झरिरहेको छ । यस्तै पाइपलाइनका कारण बिस्थापित करिब ३ सय ट्याङ्करमा पनि इन्धन भरेर स्ट्याण्डबाई राखिएको छ । यसका अलवा डीपोहरुमा इन्धन पुर्‍याएर फर्कीने सबै ट्याङ्करमा पूर्ण रुपमा इन्धन भरेर राखिने निगमले जनाएको छ । सामान्य अवस्थामा दैनिक ५ सय किलोलिटर पेट्रोल खपत हुने काठमाडौं उपत्याकामा बुधबार ३ सय किलोलिटर बढी माग आएको निगमले जनाएको छ । यस्तै निगमले आफ्नो डीपोहरुलाई पनि आवश्यक परेको बेला जुनसुकै बेला कार्यालय खोल्ने गरी व्यवस्था मिलाउन पत्राचार भएको छ ।

यसका अलावा निगमले दशैंका लागि छुट्टै टिम खडा गरेको छ । यो टिम दशैं नमनाइ देशैभर निगमको कामकाजमा खटिने छन् । उनीहरुलाई तिहारमा छुट्टी दिइने छ ।