जनता टाइम्स

५ असार २०८१, बुधबार १५:५९

नेपाल खेलकुद महासंघद्वारा स्थायी कमिटी बैठक तथा प्रशिक्षक प्रशिक्षण


काठमाडौं, ५ असार । नेपाल खेलकुद महासंघको स्थायी कमिटी बैठक तथा प्रशिक्षक प्रशिक्षण कार्यक्रम काठमाडौंमा सुरु भएको छ । खेलकुद विकासका लागि स्थानीय तहदेखि केन्द्रसम्म भौतिक पूर्वाधार, व्यावसायिक र प्रतिस्पर्धी खेलकुद गतिविधि हाम्रो आधार भन्ने मूल नाराका साथ आज सुरू भएको कार्यक्रम बिहीबारसम्म महासंघको केन्द्रीय कार्यालय बानेश्वरमा चल्नेछ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रशिक्षण कार्यक्रमको शुभारम्भ गर्नुभएको छ ।

कार्यक्रममा नेकपा एमाले स्थायी कमिटी सदस्य एवं विदेश विभाग प्रमुख डा. राजन भट्टराई, नेकपा एमाले स्थायी कमिटी सदस्य एवं महासंघका इन्चार्ज कर्णबहादुर थापा, नेकपा एमाले केन्द्रीय कमिटी सदस्य रचना खड्कालगायतका नेताहरूको सहभागिता रहेको महासंघका प्रवक्ता उज्वल सुवेदीले बताउनुभयो । कार्यक्रममा पार्टी महासचिव पोखरेलले दशौँ महाधिवेशनको कार्यदिशा र जनताको बहुदलीय जनवादका बारेमा प्रशिक्षण दिनुभएको छ ।

त्यस्तै डा. राजन भट्टराईले भूराजनीति तथा कूटनीतिक सम्बन्धका विदेश नीतिबारे प्रष्ट पार्नुभयो । कार्यक्रममा पार्टी केन्द्रीय सदस्य एवं जनसंगठन संयन्त्रका उप–प्रमुख रचना खड्काले जनसंगठन र पार्टी बिचको अन्तर सम्बन्धकाबारेमा प्रशिक्षण दिनुभयो । प्रशिक्षण कार्यक्रममा पार्टीका अन्य नेताहरूले पनि विभिन्न विषयमा प्रशिक्षण दिने कार्यक्रम रहेको महासंघका केन्द्रीय कोषाध्यक्ष समेत रहनुभएको सुवेदीले जानकारी दिनुभयो ।

महासंघका नेताहरूलाई वैचारिक रूपमा सबल बनाउन तथा बुझाइमा एकरूपता कायम गराउनको लागि प्रशिक्षण आयोजना गरिएको सुवेदीले बताउनुभयो । सुवेदीले नेपाली समाजको इतिहास र वर्तमान अवस्था, संगठन निर्माण, परिचालन र व्यवस्थापन, माक्र्सवादी विश्व दृष्टिकोणको विषयमा प्रशिक्षण दिइएको सुनाउनुभयो । अब प्रशिक्षक प्रशिक्षण लिने प्रशिक्षार्थीले देशैभर प्रशिक्षण कार्यक्रम चलाउन पाउने बताइएको छ ।