जनता टाइम्स

१७ आश्विन २०७६, शुक्रबार ११:१९

त्रिविको उपकुलपतिमा भगवान कोइरालासहित तीन जनाको नाम सिफारिस


काठमाडौं, असोज १७

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा डा. भगवान कोइरालासहित तीन जनाको नाम सिफारिस भएको छ । १९ औं उपकुलपति चयन गर्नका लागि गठित नाम सिफारिस समितिले कोइरालासहित तीनजनाको नाम सिफारिस गरेको हो ।

समितिले पहिलो नम्बरमा डा. भगवान कोइराला, दोस्रोमा डा. धर्मकान्त बास्कोटा र तेस्रोमा चन्द्रमणि पौडेलको नाम सिफारिस गरेको शिक्षामन्त्रालयका उपसचिव पुष्प ढकालले जानकारी दिनुभयो । स्रोतका अनुसार सुरुमा उपकुलपतिका लागि डा. कोइरालाले इच्छा नदेखएको भनिएपनि पछिल्लो समय शिक्षामन्त्री गिरीराजमणी पोखरेलसँग भेटघाट र छलफल भएपछि उहा सकारात्मक रहनु भएको बताइएको छ । कोइराला उपकुलपति हुन सकारात्मक भएकैले नाम सिफारिस गरिएको स्रोतले बतायो ।

डा. कोइराला मुटु शल्यचिकित्सक हुनुहुन्छ भने डा. बास्कोटा ईएनटी विशेषज्ञ र चन्द्रमणी पौडेल भने राष्ट्रिय परिक्षा बोर्डको अध्यक्ष रहनु भएको छ । पौडेलले त्रिविकै पूर्व रेजिस्ट्रार समेत रहेर काम गरिसक्नु भएको छ । शिक्षामन्त्रीको अध्यक्षतामा साउन २० गते उपकुलपतिको नाम सिफारिस समिति गठन भएको थियो। समितिमा व्यवस्थापन संकायको डिन, डिल्लीराम शर्मा र मेची क्याम्पस झापाका क्याम्पस प्रमुख कमलप्रसाद गुरागाइँ सदस्य हुनुहुन्थ्यो ।