काठमाडौं, असार ६ । नेकपा एमालेले हिमाल आरोहणमा विभिन्न कीर्तिमान कायम गर्ने पर्वतारोहीहरूलाई सम्मान गरेको छ ।
एमाले केन्द्रीय कार्यालय च्यासलमा आज आयोजित कार्यक्रमबीच नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा आलीले पर्वतारोहीहरुलाई खादाबाट सम्मानित गर्नुभयो ।
अध्यक्ष ओलीले विश्वको दोस्रो सर्वोच्च शिखर केटु हिमाल ६ पटक आरोहण गर्ने मिङ्मा डेभिड शेर्पा, एकै सिजनमा तीन पटक सगरमाथाको सफल आरोहण गर्नुभएकी पूर्णिमा श्रेष्ठ लगायत पर्वतारोहीहरूलाई खादा लगाई सम्मान गर्नुभएको हो ।
कार्यक्रममा ओलीले पर्वतारोहण जोखिमपूर्ण र गाह्रो काम भएकाले अप्ठ्यारो परिस्थिति र प्रतिकूल मौसममा जिद्दी गर्न नहुने बताउनुभयो । उहाँले पर्वतारोहीहरूलाई अनुकूल मौसममा पुनः आरोहण गर्न सकिने कुरालाई ध्यानमा राख्न सुझाव समेत दिनुभयो । अध्यक्ष ओलीले पर्वतारोहीप्रति आफ्नो सम्मान र माया रहेको बताउनुभयो ।
कार्यक्रममा नेकपा एमाले सचिव गोकर्ण विष्ट, स्थायी कमिटी सदस्य भानुभक्त ढकाल, पोलिटब्युरो सदस्य तथा नेपाल ट्रेड युनियन महासंघ (जिफण्ट) का अध्यक्ष विनोद श्रेष्ठ, केन्द्रीय सदस्य सीता लामालगायतका नेताहरु पनि सहभागी हुनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्