जनता टाइम्स

८ असार २०८१, शनिबार २२:५६

महाधिवेशनमा साझा दस्तावेज लैजाने नेकपा एसको निर्णय


काठमाडौं, असार ८ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठकले आसन्न महाधिवेशनमा साझा दस्तावेज लैजाने निर्णय गरेको छ । बैठकले प्रस्तुत गरिने राजनीतिक प्रतिवेदन, समाजवादी कार्यक्रम, विधानसम्बन्धी र साङ्गठनिक प्रतिवेदनलाई साझा दस्तावेज बनाउने निर्णय गरेको हो ।

अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा केन्द्रीय कार्यालयमा आज बसेको बैठकले चारवटा प्रतिवेदनलाई सर्वसम्मतिले अनुमोदन गरेपछि प्रतिवेदनलाई एउटै दस्तावेज बनाएर महाधिवेशनमा लैजाने विषयमा छलफल गरेको हो ।

आगामी असार १६ देखि २० गतेसम्म काठमाडौँस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने राष्ट्रिय महाधिवेशनमा सो दस्तावेजमा छलफल गरिने छ । महाधिवेशन तयारी मूल व्यवस्थापन कमिटीले अहिलेसम्म गरेका तयारीबारे जानकारी गराइएको बैठकमा आर्थिक व्यवस्थापनका विषयमा समेत छलफल गरिएको पोलिटब्यूरो सदस्य भाष्कर काफ्लेले जानकारी दिनुभयो ।

छनोट गरिएका प्रतिनिधिको कुल सङ्ख्याको पाँच प्रतिशत अर्थात ९५ जना प्रतिनिधि, क्षेत्र, भूगोल, समावेशी ढङ्गले सन्तुलन मिलाएर विवादरहित तरिका मनोनयन गर्ने विषयमा छलफल गरिएको छ ।

मुलुकको समसामयिक विषयवस्तु, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिबारे समीक्षा गरिएको बैठकमा समस्त वामपन्थी, प्रगतिशील, देशभक्त, लोकतान्त्रिक शक्तिबीचको सहकार्यलाई जोड दिइएको छ । महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । महाधिवेशनमा अध्यक्षमा बतृमान अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाल दावेदार हुनुहुन्छ ।