काठमाडौं, १० असार । गृह मन्त्रालयले प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेललाई प्रहरी अतिरिक्त महानिरीक्षक नियुक्तिका लागि सिफारिस गरेको छ । ५६ वर्षे उमेर हदका कारण एआइजी उमेशराज जोशीले अवकाश पाउनुअघि नै दुई दिनका लागि पोखरेललाई एआइजी बनाउन लागिएको हो । गृहसचिव बढुवा समितिको अध्यक्ष रहने सिफारिस समितिले पोखरेललाई सोमबार एआइजी बनाउने निर्णय गरेको हो । एआइजी जोशीले असार २० गते राति अवकाश पाउँदै हुनुहुन्छ ।
त्यही रातबाट एआइजी हुने गरी पोखरेल सिफारिस हुनुभएको छ । उहाँ पनि २२ गते रातिबाट अवकाशमा जानुहुन्छ । एकाध दिनकै लागि राज्यलाई आर्थिक व्ययभार पर्ने गरी पोखरेललाई जबरजस्ती एआइजी बनाउन भने गृहमन्त्री रवि लामिछानेको जोडबल हो । यसअघि वसन्त लामालाई ३४ घन्टाका लागि एआइजी बनाएको इतिहास नेपाल प्रहरीमा छ । त्यही विकृतिको निरन्तरतास्वरुप निकटकालाई विशिष्ट श्रेणी पदमा पुर्याउन लामिछानेले दबाब दिएको गृह स्रोत बताउँछ ।
स्रोतका अनुसार पोखरेल लामिछानेका वकिल सुशील पन्तका भान्जा पर्नुहुन्छ । पोखरेललाई एआइजी बनाउन सल्लाह उहाँका अघोषित सल्लाहकार पूर्वएआइजी दिवेश लोहनीले दिएको बताइएको छ । लोहनी उहा नै अधिकारी हो, जसले लामालाई ३४ घन्टे एआइजी बनाउँदा विरोध गर्नुभएको थियो । पोखरेल लोहनीका साँढुभाइ हो । दुई दिन बन्ने एआइजीले प्रहरी कार्यसम्पादनमा कुनै पनि खालको अनुभव र भूमिकामा सहयोग गर्न नसक्ने हुनाले यो पोखरेललाई विशुद्ध पदमा पुर्याउनकै लागि मात्रै हो । प्रहरी तथा निजामती प्रशासनमा विशिष्ठ श्रेणीको मूल्यांकन उच्च छ ।
अवकाशपछिको सेवा सुविधा तथा पदीय हैसियत बढ्ने भएकाले प्रहरीमा विशिष्ट श्रेणी पुग्न चाकडी र मरिहत्ते चल्ने गरेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी महाशाखामा कार्यरत पोखरेल प्रहरी कार्यसम्पादनमा औषत मानिनुहुन्छ । बढुवा समितिमा सदस्य सचिव रहेका प्रहरी महानिरीक्षक वसन्त कुँवर सोमबार अमेरिका जाँदै हुनुहुन्छ । आफू अमेरिका जानुअघि उहाँले पोखरेललाई एआइजी सिफारिसमा सहमति दिनुभएको हो । कुँवर र गृहमन्त्री लामिछानेको सम्बन्ध हार्दिक छैन । कुँवरलाई नै हटाउने योजनामा लामिछाने लागिपर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्