जनता टाइम्स

१८ आश्विन २०७६, शनिबार ०६:५२

दशैं मनाउन घर जानेको लर्को


काठमाडौँ, असोज १८

दसैं मनाउन काठमाडौंबाट बाहिर जानेको आजबाट निक्कै ठुलो लर्को लागेको छ । शुक्रबारबाट अधिकाशं कार्यालय बन्द भएपछि मानिसहरु विहानैबाट राजधानी बाहिरिन थालेका हुन् । प्रहरीका अनुसार शनिवारमात्र दुई लाख भन्दा बढि मानिस राजधानी बाहिरिने अनुमान गरेको छ ।

दसैं मान्न उपत्यकाबाट शुक्रबारसम्म करिब १९ लाख यात्रु बाहिरिएका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालका अनुसार शुक्रबार साँझसम्म १८ लाख ७१ हजार ८ सय ७५ यात्रु बाहिरिएका छन् । यो संख्या असोज ५ मा टिकट बुकिङ खुला भएयताको हो । यात्रु लगेर १ लाख ९० हजार ९ सय ९४ सवारी साधन उपत्यका बाहिरिएका छन् ।

यो अवधिमा ९ लाख ५२ हजार ५ सय ४५ यात्रु काठमाडौं भित्रिएका छन् । १ लाख ६४ हजार ७ सय २५ गाडी भित्रिएका छन् । यसमा निजी सवारी साधनको संख्यासमेत रहेको ट्राफिक प्रहरीले जनाएको छ । रुटका गाडी कम चल्न थालेपछि काठमाडौंका यात्रु भने मर्कामा परेका छन् । थोरै गाडीले कोचाकोच यात्रु बोक्ने गरेका छन् । ट्याक्सीले भने मनपरी भाडा लिएर यात्रुलाई उल्टै सास्ती दिँदै आएको गुनासो बढेको छ । रुटका गाडी कम चल्दा ट्याक्सीले भाडामा बार्गेनिङ गरिरहेको यात्रुले बताए ।