जनता टाइम्स

१२ असार २०८१, बुधबार ०४:२०

नेदरल्यान्ड्सलाई स्तब्ध पार्दै युरो २०२४ को अन्तिम १६ मा पुग्यो अस्ट्रिया, एम्बाप्पेको फ्रान्स दोस्रो स्थानमा सिमित


बर्लिन, असार १२ । नेदरल्यान्ड्सलाई हराउँदै अस्ट्रिया युरो २०२४ को अन्तिम १६ मा प्रवेश गरेको छ । अन्तिम खेलमा ३–२ को जित निकाल्दै अष्ट्रिया टोली समूह डीको समूह विजेता बनेको हो ।

फ्रान्ससमेत रहेको कठिन समूहमा परे पनि राल्फ राग्निकको टोली तीनमध्ये दुई खेल जित्दै समूहको शीर्ष स्थानमा रहन सफल भयो । पराजयका बाबजुद नेदरल्यान्ड्स पनि नकआउट चरणमा भने प्रवेश गरेको छ । सो टीम तेस्रो स्थानको टोलीको रूपमा नकआउट चरणमा प्रवेश गरेको हो ।

मंगलबार राति भएको खेलमा डोनयेल मालेनको आत्मघाती गोलको मद्दतले खेलको सुरुवातमा नै अस्ट्रियाले अग्रता लिएको अस्ट्रियाले थियो । त्यसपछि पहिलो हाफ थप कुनै गोल नभई सकियो ।

दोस्रो हाफमा भने गोलको वर्षा भयो । ४७ औँ मिनेटमा नेदरल्यान्ड्सका कोडी गाक्पोले सुन्दर गोल गर्दै खेल बराबरी गरे भने ५९ औँ मिनेटमा रोमानो स्मिडले पुनः अस्ट्रियालाई अग्रता दिलाए । यस्तै ७५ औँ मिनेटमा मेम्फिस डिपायले गोल गरेपछि खेल २–२ को बराबरीमा पुग्यो । तर, ५ मिनेटपछि नै मार्सेल साबिट्जरले गोल गर्दै अस्ट्रियालाई जित दिलाएका हुन ।

उता फ्रान्सले पोल्यान्डसँग बराबरी खेलेपछि टोली दोस्रो स्थानमा नै चित्त बुझाउन बाध्य बन्नुपरेको छ । सो खेल १–१ गोलको बराबरीमा टुङ्गियो ।

५६ औं मिनेटमा किलियान एम्बाप्पेले पेनाल्टीमार्फत फ्रान्सलाई अग्रता दिलाए पनि ७९ औँ मिनेटमा रोबर्ट लेवान्डोस्कीले पेनाल्टीबाटै बराबरी गोल फर्काए । ३ खेलपछि समूह डीमा अस्ट्रियाको ६ अङ्क रह्यो भने फ्रान्सले ५ अङ्क बटुल्दा नेदरल्यान्ड्स ४ अङ्कमा सीमित बन्यो । जितविहीन पोल्यान्डले केवल १ अङ्कमा चित्त बुझाउनु पर्यो ।