जनता टाइम्स

१३ असार २०८१, बिहीबार १५:५२

स्थानीय समस्याबारे प्रधानमन्त्रीको ध्यानाकर्षण


काठमाडौं, १३ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेकपा (माओवादी केन्द्र) बाँकेका प्रमुख नेताहरूले भेटेर जिल्लाका समस्याबारे ध्यानाकर्षण गराउनुभएको छ । माओवादी केन्द्र बाँकेका जिल्ला इन्चार्ज तथा पार्टीका स्थायी समिति सदस्य पूर्णाकुमारी सुवेदी र जिल्ला संयोजक नरेन्द्रप्रसाद पाण्डेलगायतको टोलीले प्रधानमन्त्री प्रचण्डलाई भेटेर जिल्लाको समस्यालगायत पार्टीको अवस्थाकाबारेमा विस्तृत जानकारी गराउनुभएको हो ।

बाँके जिल्लामा डुबान र बाढीलगायत अन्य विभिन्न विकास निर्माणका समस्याबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुका साथै माओवादी केन्द्रले पालिकास्तरमा अधिकांश वडा सम्मेलन सम्पन्न गरेको बारेमा उहाँलाई जानकारी गराइएको माओवादी केन्द्र बाँकेका इन्चार्ज सुवेदीले बताउनुभयो ।

उहाँले प्रधानमन्त्री प्रचण्डले यसअघि बाँकेलाई विशेष ध्यान दिने प्रतिबद्धता जनाउनु भएकाले उहाँलाई जिल्लाको समग्र अवस्था र जनताको चाहनाबारे जानकारी गराइएको बताउनुभयो । यसैगरी सरकारले गर्ने कामका विषयमा बाँकेलाई पनि विकास निर्माणका काममा नछुटाउन अनुरोध गरिएको माओवादी केन्द्र बाँकेका संयोजक पाण्डेले बताउनुभयो । भेटमा पार्टीले पछिल्लो समय चलाएको अभियानले बाँकेको ८१ वडामा पार्टीको सङ्गठन बलियो भएको रिपोर्टिङ पनि अध्यक्ष प्रचण्डलाई गरिएको थियो ।