जनता टाइम्स

१३ असार २०८१, बिहीबार १६:४०

दूध किसानले भिख मागेका होइनन्, किसानलाई रुवाएर सरकार हाँसेको छ : गोकुल बास्कोटा


काठमाडौं, १३ असार । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले दूध किसानको रकम भुक्तानी गर्न सरकारलाई ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको बैठकमा बोल्दै सरकार र मन्त्री फेरिएपनि दूध किसानको समस्या समाधान नभएकोप्रति आपत्ति जनाउनु भएको हो । किसानहरूले दूध बेचको ५ अर्बभन्दा बढी रकम भुक्तानी नदिएर रुवाइरहेको उहाँको भनाइ छ । उहाँले किसानलाई रुवाएर सरकार हाँसेर बसेको आरोप लगाउनुभयो ।

उहाँले भन्नुभयो,‘दूध किसानले न्याय पाउन सकेका छैनन् । के फ्रान्समा जस्तो किसानले ट्याक्टरहरू सडकमा लगेर राख्नुपर्ने हो कि ? गाईवस्तु ल्याएर सडकमा छाड्नुपर्ने हो कि ? के गर्यो भने उहाँहरूले न्याय पाउँछन् ? उनीहरुले भीख मागेका होइनन् । किसानले परेसानको मूल्य मागेको हो । यो समस्या जति तन्काउँछौं सरकारको लोकप्रियतामात्रै होइन सरकारको क्षमता र जवाफदेहितामा प्रश्न उठिरहेको छ । एकजनाको कुरा होइन । देशैभरीका किसानको कुरा हो । निजी क्षेत्रले पनि तिर्न बाँकी छ । ऊसित पनि संवाद गर्नुपर्यो ।’