जनता टाइम्स

१४ असार २०८१, शुक्रबार १३:५४

बालेन र वडा अध्यक्षबीच विवाद : नगरसभा स्थगित


काठमाडौं, १४ असार । काठमाडौं महानगरपालिकाको नगर सभा बैठक स्थगित भएको छ । आज बिहान ८ बजेका लागि डाकिएको नगर सभामा मेयर बालेन शाह उपस्थित नभएपछि बैठक स्थगित भएको हो । आजको बैठकले आगामी वर्षको बजेट पारित गर्ने कार्यसूची तय गरेको थियो । आज आगामी वर्षको २०८१र०८२ को नीति तथा कार्यक्रम पारित गर्ने र बजेट तथा कार्यक्रम सम्बन्धमा छलफल र पारित गर्ने कार्यसूची थियो । यस्तै, काठमाडौं महानगरपालिका आर्थिक विधेयक, विनियोजन विधेयक छलफल र पारित गर्ने कार्यसूची थियो ।

न्यायिक समितिको आर्थिक वर्ष २०८०/०८१ को प्रतिवेदन, लेखा समितिको आर्थिक वर्ष २०८०र०८१ को प्रतिवेदन छलफल गर्ने र पारित गर्ने कार्यसूची रहेको थियो । यसैबीच मेयर बालेन्ले आज एक स्ट्याटस लेख्दै कांग्रेस, एमालेका जनप्रतिनिधिले नगरसभा बैठक रोकेको आरोप लगाउनुभएको छ । उहाँले कांग्रेस–एमालेका जनप्रतिनिधिले विपी र पुष्पलालको नाममा करोडौंको कार्यक्रम गर्न भनेको उल्लेख गर्दै आफुले त्यसको बदला चार स्वतन्त्र सेनानी सहीदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठको नाममा गरौँ भनेको उल्लेख गर्नुभएको छ ।

उहाँले भन्नुभएको छ,

‘एमाले काङ्ग्रेसले बिपि कोइराला, मदन भण्डारीको नाममा करोडौँको कार्यक्रम गरौँ भन्नुभयो । मैले चार स्वतन्त्र सेनानी सहीदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठको नाममा गरौँ भनेँ । सायद काङ्ग्रेस एमालेलाई नेपालको क्रान्तीमा उहाँहरुभन्दा धेरै काङ्ग्रेस एमालेको नेताहरूको योगदान धेरै देख्नु भयो होला । त्यसपछी आज बस्ने नगरसभा बैठक रोकेर जानु भयो ।’