काठमाडौं, असार १६ । आइसीसी टी-२० विश्वकपको उपाधि भारतले जितेको छ। शनिवार भएको फाइनल खेलमा दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै भारतले १७ वर्षपछि बिश्वकपको उपाधि जितेको हो।
भारतले दिएको १७७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित ओभरमा ८ विकेटको क्षतिमा १६९ रन मात्र बनाउन सक्यो। दक्षिण अफ्रिकाका लागि हेइनरिक क्लासेनले सर्वाधिक ५२ रन बनाए। त्यस्तै क्विन्टन डीककले ३९ रन, ट्रिस्टन स्टबले ३१ र डेबिड मिल्लरले २१ रन बनाएका थिए ।
भारतका लागि हार्दिक पाण्डेले ३ विकेट लिए। त्यस्तै अर्शदीप र जसप्रित बुमराहले २-२ विकेट र अक्सर पटेलले एक विकेट लिए। यसअघि बारबाडोजको ब्रिजटाउनस्थित रंगशालामा टस जितेर ब्याटिङ गरेको भारतले ७ विकेटको क्षतिमा १७६ रन बनाएको थियो।
भारतका लागि विराट कोहलीले सर्वाधिक ७६ रन बनाए। ५९ बल खेलेका कोहलीले ६ चौका र २ छक्का प्रहार गरेका थिए। त्यस्तै अक्सर पटेलले ४७ रन, शिभम दुबेले २५ रन, रोहित शर्माले ९ रन, सूर्यकुमार यादव ३ र रविन्द्र जडेजाले २ रन बनाएर आउट भएका थिए भने रिसभ पन्त भने शून्य रनमै आउट भएका थिए। त्यस्तै हार्दिक पाण्डे ५ रनमा अविजित रहे।
प्रतिक्रिया दिनुहोस्